छोरा चाहिने सोचबाट मुक्त हुँदै बदलिएको एउटा परिवारको कथा
दैलेख: नारायण नगरपालिका–दैलेखकी एक महिला तीन छोरीकी आमा हुन्। २० वर्षको उमेरमा विवाह गरेकी उनले केवल छोरी जन्माएको कारण परिवार र समाजबाट लामो समयसम्म मानसिक हिंसा, अपमान र विभेद सहनुपर्यो । “छोरा अनिवार्य चाहिन्छ” भन्ने गहिरो सामाजिक मान्यताले ग्रसित समुदायमा बस्दै आएकी ती महिलालाई अंस खाने समेत छोरा जन्माउन नसकेको आरोप लगाइयो । उनका भावना, पीडा र संघर्षभन्दा पनि छोरी जन्माएको विषयलाई दोषका रूपमा हेर्ने प्रवृत्तिले उनको जीवन कठिन बनाइदियो। आफन्त र समाजले उनका श्रीमानलाई दोस्रो विवाह गर्नसमेत दबाब दिए, जसले उनको आत्मसम्मानमा गहिरो चोट पुर्यायो ।
त्यही संघर्षपूर्ण समयका बीच उनका श्रीमान् क्यान्सरबाट ग्रसित भई निधन भएपछि उनको अवस्था झनै जटिल बन्यो । तीन छोरीको पालनपोषण एक्लै गर्दै जाँदा उनले परिवारभित्र र समाज दुवैतर्फबाट सामाजिक, मानसिक र भावनात्मक दबाब निरन्तर खेप्नुपर्यो। एकल महिला हुनु आफैंमा चुनौती बनेको समाजमा छोरीकी आमा हुनु थप बोझसरह व्यवहार गरिन्थ्यो । भविष्यप्रतिको चिन्ता, आर्थिक असुरक्षा र सामाजिक दृष्टिकोणले उनलाई बारम्बार कमजोर बनाउने प्रयास गर्यो ।
यही कठिन परिस्थितिका बीच उनको जीवनमा परिवर्तनको ढोका खुल्यो । युरोपेली संघ र संयुक्त राष्ट्रसंघको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालन भइरहेको “सशक्त महिला, समृद्ध नेपाल” ९इडप्लुपीएन० कार्यक्रम अन्तर्गतको परिवार संवाद कार्यक्रममा सहभागी हुने अवसर उनले पाइन् । कार्यक्रममा समुदाय सहजकर्ता तथा लैङ्गिक हिंसा प्रतिकार्य सेवा प्रदायकहरूले सन्तानको लिङ्ग निर्धारण महिलाको कारणले नभई पुरुषको जैविक भूमिकाबाट हुने वैज्ञानिक तथ्य सरल भाषामा प्रस्तुत गरे ।
यो तथ्य महिलाका लागि मात्र होइन, उनको परिवारका सदस्यहरूका लागि पनि नयाँ थियो । लामो समयदेखि अज्ञानता र परम्परागत सोचका कारण महिलामाथि दोष थोपर्ने परिवारले पहिलो पटक आफ्नै सोचमाथि प्रश्न गर्न थाल्यो। सही जानकारी प्राप्त गरेपछि परिवारका सदस्यहरूले महिलामाथि गरिएको व्यवहार अन्यायपूर्ण भएको स्वीकार गरे । त्यसपछि क्रमशः उनीहरूको सोच, बोली र व्यवहारमा परिवर्तन देखिन थाल्यो । छोरीहरूलाई बोझका रूपमा होइन, परिवारको समान अधिकार भएका सदस्यका रूपमा हेर्ने दृष्टिकोण विकास भयो । मानसिक हिंसा, आरोप र लाञ्छनाको मात्रा घट्दै गयो ।
आज ती महिला तीन छोरीकी आमा र एकल महिलाको रूपमा खुसीजीवन बिताइरहेकी छन् । उनका छोरीहरू आत्मविश्वासी वातावरणमा हुर्किरहेका छन् । परिवारभित्र आएको सोच परिवर्तनले महिलालाई मात्र होइन, उनका छोरीहरूको भविष्यलाई पनि सुरक्षित र सम्मानजनक बनाएको छ । यो परिवर्तनले परिवारमा मात्र सीमित नरही समुदायस्तरमा पनि सकारात्मक सन्देश फैलाइरहेको छ ।
युएनएफपीएको सहयोग तथा सोसेक नेपालको सामाजिक सहजीकरणमा सञ्चालन गरिएको (इडप्लुपीएन) कार्यक्रम अन्तर्गत उनले परिवार संवाद कार्यक्रममार्फत जीविकोपार्जन सुधारका लागि बीउ पुँजी सहयोग पनि प्राप्त गरिन् । सोही सहयोगबाट उनले बाख्रा पालन सुरु गरिन्, जसले परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुर्याएको छ । यसबाट छोरीहरूको पढाइ खर्च व्यवस्थापन गर्न सहज भएको छ भने आत्मनिर्भर बन्ने आत्मविश्वास पनि बढेको छ ।
कर्णाली प्रदेशमा उनीजस्तै २६० घरपरिवारले जीविकोपार्जन सहयोग प्राप्त गरी बाख्रा पालन, कुखुरा पालन, खुद्रा व्यापार, तरकारी खेती तथा केहीले आफ्नै लगानी थपेर भैंसी पालनसमेत सुरु गरेका छन् । यसले महिलाको आर्थिक सशक्तीकरणसँगै परिवारको निर्णय प्रक्रियामा महिलाको भूमिका मजबुत बनाएको छ ।
यस परिवारमा आएको परिवर्तनले देखाएको छ कि सही जानकारी, खुला संवाद र लैङ्गिक रूपान्तरणमुखी दृष्टिकोणले दीर्घकालीन व्यवहार परिवर्तन सम्भव हुन्छ । परिवार संवादबाट सुरु भएको परिवर्तन अहिले व्यवहारमा रूपान्तरण भइसकेको छ, जसले पुस्तान्तरणीय सकारात्मक प्रभावको आधार तयार गरेको छ। यो कथा सोसेक नेपालको “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको प्रभावकारी कार्यान्वयनको उदाहरण हो, जसले महिलामाथि हुने मानसिक हिंसा न्यूनीकरण गर्दै परिवारलाई नै सामाजिक रूपान्तरणको केन्द्र बनाएको छ ।
प्रतिक्रिया