साल वनमा 'डिफोलिएटर' किराको महामारी, उजाड बन्दै जैविक विविधता

साल वनमा 'डिफोलिएटर' किराको महामारी, उजाड बन्दै जैविक विविधता

दैलेख -  दैलेखको नारायण नगरपालिका–८, सिमडाका प्रेम बहादुर रावल अचेल टोलाउँदै नजिकैको जङ्गलतिर हेर्छन् । कुनै समय हरियो गलैँचा बिछ्याएझैँ देखिने त्यो सालको जङ्गल अहिले कसैले डढेलो लगाएर छोडेको झैँ खैरो र उजाड छ । न त्यहाँ घाँस छ, न त पशुलाई ओछ्याउने स्याउला नै पाइन्छ । 

गाईभैंसीका लागि आहार, गोठका लागि ओछ्यान र खेतबारीका लागि मल र सबैका लागि सालका पात किसानको जीवनसँग गाँसिएका थिए । तर, यो वर्ष नारायण नगरपालिका–७ र ८ अन्तर्गत पर्ने सिमडा आसपासका जङ्गलहरु नाङ्गा छन् । सालका रुख छन्, तर पात छैनन् । अज्ञात झुसिल किरा (पुतली प्रजातिको लार्भा) ले सालका पात खाइदिँदा वन उजाड बनेको छ, र यसको सीधा असर किसानको दैनिकी र जीविकोपार्जनमा परेको छ ।

‘घर नजिकैको वन हुँदा बस्तु–भाउ पाल्न सजिलो थियो, सालका पातले पशुको आहार र मल दुवै पुग्थ्यो,’ रावल भन्छन्, ‘तर अहिले त वनभरी किरा मात्रै छन् । जङ्गल पस्नै नसकिने गरी नाङ्गो भएको छ । अब पशु कसरी पाल्ने ? के खुवाउने ?’

यो समस्या प्रेम बहादुरको मात्र होइन, नारायण नगरपालिका–७ र ८ का जगमती विक, भावना रोकाया, मनसरा रावत  लगायत सयौँ किसानहरूको साझा व्यथा हो । पछिल्लो तीन वर्षदेखि यो क्षेत्रको सालको जङ्गलमा ‘डिफोलिएटर’ भनिने पात खाने किराको प्रकोप फैलिएको छ, जसले सिङ्गो वनलाई नै संकटमा पारेको छ  ।

पात खाने ‘डिफोलिएटर’ भनिने झुसिल किरा

प्रकृतिको नियम अनुसार वसन्त ऋतुमा वन पल्लवित हुनुपर्ने हो । तर, दैलेखका किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान र बेलपाटा लगायतका क्षेत्रमा दृश्य अर्कै छ । यहाँ ‘डिफोलिएटर’ भनिने झुसिल किराले पात खाने किराले सालका रुखलाई एकसरो नाङ्गो बनाइदिएको छ ।

स्थानीय उपभोक्ता जक्मती विक भन्छिन्, ‘हाम्रो वनमा यस्तो रोग कहिल्यै देखेका थिएनौँ । एउटा पात पनि बाँकी छैन । वन नै उजाड भएपछि खेतीपाती र पशुपालन गर्न मुस्किल भएको छ ।’
वनभित्र पस्दा आजकल हरियालीको सट्टा कुरुप दृश्य देखिन्छ । पातविहीन रुख, जमिनभरि लार्भाका अवशेष र जालो, यस्तोे दृश्यले स्थानीयलाई थप चिन्तित बनाएको छ । नारायण–८ की भवानी रोकाय भन्छिन्, ‘जंगल हाम्रो जीवनको आधार हो । तर यस्तो दयनीय अवस्था हुँदा पनि सम्बन्धित निकायले वास्ता गरेको देखिँदैन ।’ 

यता डिभिजन वन कार्यालय प्रमुख अमर प्रसाद साहले केन्द्रबाट विज्ञ टोली आएर अनुसन्धान गरेको बताउँछन् । यो पटक विज्ञ टोलीले लार्भा नभेटाएको र फेरि फागुनतिर तापक्रम बढेपछि किरा देखिन सक्ने भएकाले त्यतिबेला नमुना संकलन गरेर पठाउन भनिएको उनले जानकारी दिए  ।

यदि जीवित लार्भा भेटिए त्यसलाई ल्याबमा ल्याएर हुर्काइ वयस्क भएपछि मात्रै कुन प्रजातिको ‘मथ’ (पुतली) हो भनेर यकिन गर्न सकिने उनी बताउँछन् । अचम्मको कुरा त के छ भने, यी किराले सालसँगै रहेका सल्लाका रुखलाई भने छोएका पनि छैनन् । विशेषज्ञहरूका अनुसार यो प्रजाति विशेषगरी सालको पातमा मात्र निर्भर रहने बताउँछन् । गर्मी मौसम सुरु हुनासाथ यसको सक्रियता पुन बढ्ने र जङ्गलभरी माकुराको जालो जस्तो जालो र झुसिलकिराको साम्राज्य फैलिने बताउँछन् ।

वनमा देखिएको प्रकोप ‘डिफोलिएटर’ अर्थात् पात खाने किरा भएको वन विज्ञहरुको भनाई छ  । वन मन्त्रालय मातहतको अनुसन्धान टोलीले स्थलगत अध्ययनपछि जङ्गलमा किराको महामारी भएको निष्कर्ष निकालेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेम बुढाका अनुसार यो पुतली प्रजातिको लार्भा हो, जसले ५–६ पटक काँचुली फेर्दै सालका पात खाइदिन्छ । ‘सालका पात खाने किराहरू सयौं प्रजातिका हुन्छन्,’ उनी भन्छन्, “तर यसरी वनै नाङ्गो बनाउने प्रकोप ल्याउने चाहिँ थोरै प्रजाति मात्र हुन्छन् ।’

उपसचिव सुनिता उलकको संयोजकत्वमा गठित विज्ञ टोलीले कर्णाली प्रदेशका विभिन्न सामुदायिक वनहरू, किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान, बेलपाटा, लगायत क्षेत्रमा अध्ययन गरेको थियो । 
विज्ञहरूका अनुसार लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु यो महामारी फैलिनुको सहायक कारण रहेको बताउँछन् । विशेषगरी दक्षिण र पश्चिम फर्किएका पहाडी क्षेत्रका साल वनमा यसको असर बढी देखिएको छ । चैत–वैशाखतिर वयस्क पुतली निस्केर पातमा अन्डा पार्छन्, र त्यसबाट निस्किएका लार्भाले व्यापक क्षति पु¥याउँछन् ।

वन विज्ञ सुनिता उलकका अनुसार, लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु नै यो महामारी फैलिनुको मुख्य कारण हो । ‘यी किराका वयस्क पुतलीले चैत–वैशाखमा सालको पातमा अन्डा पार्छन् र त्यसबाट निस्किएका लार्भाले ५–६ पटक काँचुली फेर्दै पात खाएर रुखलाई नाङ्गो बनाउँछन्,’ उनले भनिन् । 

त्रिभुवन विश्वविद्यालयका प्रा. डा. प्रेम बुढाले त्यहाँ किराका काँचुली र प्युपाका अवशेषहरू प्रशस्त भेटिएको बताए । चिसो मौसममा केही कम देखिए पनि फागुन–चैतपछि यी किरा पुनः सक्रिय हुने र यसले वनको पारिस्थितिकीय प्रणालीमै गम्भीर धक्का पु¥याउने उनको भनाई छ ।

वन केवल घाँस–दाउराको स्रोत मात्र होइन, यो यहाँको ग्रामीण अर्थतन्त्रको खम्बा पनि हो ।  वनबाट ल्याइने स्याउला कुहाएर बनाइने मलले बारीमा अन्न फल्थ्यो यो पटक न त पशुलाई आहार छ, न बारीलाई मलनै बनाउन सकिएको स्थानीय भावना रोकाया बताउँछिन् ।

यसको असर सांस्कृतिक कार्यमा समेत परेको छ । सालको पात शुद्ध र अशुद्ध दुवै कार्यमा दुना–टपरीका रूपमा प्रयोग गरिन्छ । तर, अहिले एउटै पात भेट्न पनि मुस्किल भएपछि स्थानीयहरू चिन्तित छन् ।  ‘कुनै पूजाआजा वा काजकिरियामा पात चाहिन्छ, तर जङ्गलमा एउटा पनि सग्लो पात छैन,’ स्थानीय नरेन्द्र मल्ल भन्छन्  ।

यो वातावरणीय संकटका बीच सोसेक नेपालले सरकार र सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरेको छ । सोसेकले वनमा फैलिएको यो संक्रमणका साथै जथाभावी ‘चुत्रो’ को जरा निकासी गर्दा जैविक विविधतामा परिरहेको असरप्रति पनि चिन्ता व्यक्त गरेको छ । उनीहरूले वातावरण जोगाउन र किसानको समस्या समाधान गर्न एकीकृत पहलको माग गरेका छन् ।

नारायण नगरपालिका–७ का वडा अध्यक्ष खड्गबहादुर शाहीले यो प्रकोपले सबैभन्दा बढी मार किसानलाई पारेको स्वीकार गर्दै यसको पहिचान र नियन्त्रणका लागि नगरपालिका र वन कार्यालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । 

प्रकोप नियन्त्रण र भविष्यमा हुने क्षति न्यूनीकरणका लागि विज्ञ टोलीले केही महत्त्वपूर्ण प्राविधिक सिफारिस गरेको छ । सालको वनमा भदौ–असोजतिरै रुखका हाँगाबिँगा काँटछाँट गर्ने र वन सफा गरे किरा संख्या घटाउन सकिने विज्ञ टोलीले बताएको छ । माटोमा लुकेर बसेका किराका अवशेष नष्ट गर्न निश्चित क्षेत्रमा नियन्त्रण गरी आगो लगाएर अनुसन्धान गर्ने विधिलाई पनि विकल्पका रूपमा हेरिएको छ ।
आगामी फागुन–चैततिर तापक्रम बढ्न थालेपछि किराहरू फेरि सक्रिय हुन सक्ने भएकाले डिभिजन वन कार्यालयहरूलाई लाइट ट्र्याप प्रयोग गर्न र समुदायलाई पूर्वसूचना दिन आग्रह गरिएको छ ।
स्थानीय डिभिजन वन कार्यालय र मन्त्रालयका अधिकारीहरूलाई सँगै लगेर लाइट ट्र्याप गर्ने र नियन्त्रण गर्ने विधि सिकाएर आएको उपसचिव उलकले बताइन्  ।

आगामी दिनमा वन क्षेत्रमा यस्तो लक्षण देखिने बित्तिकै उपभोक्ता समूहले नजिकको वन कार्यालयमा प्रारम्भिक चरणमै जानकारी गराउनुपर्ने उनको आग्रह छ  । बाताबरण सँग जोडेर मुख्य शिर्षक 
 

प्रतिक्रिया