प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु

काठमाडौँ –  नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या, मन्त्रालय सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन शनिबार काठमाडौँमा सुरु भएको छ । 

सम्मेलनमा देशभरिका सम्पूर्ण प्रत्यारोपण सम्बन्धी विज्ञहरू एकै थलोमा जमघट भएका छन् । नेपालका प्रत्यारोपण विज्ञहरू, समाजसेवी, पत्रकार, कालाकार, कानुनविद् तथा प्रत्यारोपण तथा मस्तिष्क मृत्यु पश्चात् अंगदान हुन सक्ने अस्पतालका आइसीयू इन्चार्ज, ट्रान्सप्लान्ट कोर्डिनेटर,  प्रत्यारोपण हुन  भई रहेका र  हुन सक्ने अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखका साथै विदेशी प्रत्यारोपण विज्ञहरूको पनि सहभागिता रहेको छ । 

प्रत्यारोपण सम्बन्धी सम्मेलनले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरी मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धी  कार्यले अझै प्रभावकारी रूपमा गति लिने विश्वास लिइएको छ ।

सम्मेलनमा नेपाली विज्ञहरूबाट ११ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट ९ वटा कार्यपत्रहरू प्रस्तुत हुने कुरा मूल आयोजक कमिटीका संरक्षक डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो   ।

उक्त सम्मेलनको नारा मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट देशमा अंगदान सम्बन्धी समस्या र सोको समाधान तथा  मृत्यु पश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै  मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपण कार्य सुचारु हुने विश्वास गरिएको छ । 

एक दिने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरू लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष डा कल्पना कुमारी श्रेष्ठले बताउनुभयो   ।

उक्त सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको थियो । सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता माननीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गरेका थिए ।  उक्त सम्मेलनमा राजेन्द्र पाण्डे, रञ्जु झा, डा. चन्दा कार्की, पूर्व मन्त्री महेश बस्नेत, भारतीय विषेशज्ञ, र नेपालका चिकित्सा क्षेत्रमा ख्याती प्राप्त विज्ञ, पूर्व मुख्य सचिव, सचिवज्यूहरु, पत्रकार, समाजसेवी, कलाकार,  लगायतको उपस्थिति थियो । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले यस केन्द्रलाई विशिष्टकृत जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नेपाल सरकारले घोषणा गरिसकेको हुँदा जति सक्दो छिटो कार्यान्वयन हुन सके देशलाई आवश्यक जनशक्ति देशमै उत्पादन कुरा उल्लेख गरेका थिए । उहाँले नेपाल सरकारकै स्वामित्वमा रहेको सूर्य विनायक स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहको (हाल चाइनिज इँटा भट्टा  भएको स्थान) जग्गा सबै भन्दा उपयोगी भएको हुँदा प्रत्यारोपण केन्द्रलाई करिब १०० रोपनी जग्गा अवश्य हस्तान्तरण गरिदिन सम्पूर्ण अङ्ग फेल भएका व्यक्तिहरू र प्रत्यारोपण केन्द्र परिवारको तर्फबाट आह्वान गर्नुभयो  ।

जग्गा हस्तान्तरण भएमा केन्द्रलाई  ५०० बेड क्षमतामा पुर्‍याउने लक्ष्य पुरा हुने उहाँको भनाई थियो । साथै शैक्षिक भवन, बिरामी र कुरुवा परिवारको लागि होस्टेल तथा अत्यावश्यक कर्मचारीहरूको लागि आवास सुविधा हुन सक्नेछ  र केन्द्रले दिने सेवा ५००५ सम्म वृद्धि गर्न सम्भव हुने र प्रत्यारोपण सीप हस्तान्तरण गरी देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तारको लागि आवश्यक जनशक्ति उत्पादन गरी बढीभन्दा बढी सेवा दिन केन्द्र आतुर रहेको कुरा समेत उहाँले बताउनुभयो  ।

प्रतिक्रिया