माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिनुहुन्छ । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उहाँको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ । 

“माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि दुना, टपरी बनाउनै प¥यो”, आशिदेवीले भन्नुभयो, “दुना, टपरीमा परिकार दिने चलन पुरानै हो, यसलाई जीवन्त राख्नुप¥यो ।”
 
माघी आउनपूर्व एक महिनादेखि आशिदेवी जस्तै अन्य थारु समुदायका महिलाले तोरीको तेल पेल्ने, अन्ती धान कुटेर त्यसको चामलको गुलियो जाँड बनाउने, रक्सी तयार गर्ने, ढिक्री बनाउनका लागि चामल ढिक्कीमा कुट्नेलगायत काम गर्दै आएका छन् । नदी तलाउबाट माछा मारेर ल्याई आगोमा सुकाएर माघीका बेला विभिन्न परिकारसँगै पाहुनालाई खान दिइने गरिन्छ । 

नदी तलाउमा विषादीको प्रयोग गरी माछा मार्ने कार्य हुदैँ आएको वासुदेवी डगौँराले बताउनुभयो । “वन क्षेत्रका तालमा माछा मार्न दिदैनन्”, उहाँले भन्नुभयो, “सार्वजनिक तालतलैया र पोखरीमा माछा नै छैनन्, त्यसैले बजारबाट माछा खरिद गरेर माघीको जोहो मिलाएका छौँ ।” 

खानाका परिकार बनाउनका लागि आवश्यक दाउराको जोहो महिलाले यस अघिनै मिलाई सकेका छन् । माघीकै लागि घर लिपपोत तथा सरसफाइको काम गरिसकेको गहनु डगौँराले बताउनुभयो । “सुँगुर, कुखुरा, माछाको जोहो मिलाइसकेका छौँ”, उहाँले भन्नुभयो, “यतिबेला समुदायका सबै माघीको अन्तिम तयारीमा छौँ ।”
 
पिपलाडी गाउँका बडघर रहनुभएका गहनुले माघीका बेला देखाइने मघौटालगायत नृत्य टोलीको छनोट गरी जिम्मेवारी दिने कार्य गरिएको बताउनुभयो । माघीमा थारु समुदायले मघौटासँगै छोक्रा नृत्य पनि देखाउने गरेका छन् । पुसको अन्तिम दिनका लागि सुँगुर मार्ने कार्य गरिन्छ । 

पिपलाडीका छ टोलमा मासुका लागि छ वटा सुँगुर मार्ने व्यवस्था मिलाइएको वडाध्यक्ष एवं पूर्व बडघर नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार यसै अवसरमा गाउँका सबै जनाले गच्छेअनुसार सुँगुरको मासु खरिद गर्ने तथा नयाँ लुगा लगाउने चलन रहेको छ । 

“सुँगुर ढाल्ने दिनलाई ‘जिता मर्ना भन्ने गरिएको छ”, चौधरीले भन्नुभयो, “माघ महिना सुरु भएपछि कुनै पनि पशुपन्छीको बध गर्न नहुने चलन छ । त्यसैले एक दिनअगावै सुँगुर ढाल्ने, कुुखुरा, भेडा, बाख्राको मासुको व्यवस्था गरिन्छ ।” 

जिता मर्ना गरिने दिनको रातभरि आगोका धुनी जगाई रातभर मादल, डम्फु बजाउँदै बुढापाका, युवालगायतले पुराना गीत गाउँदै महिलाले छोक्रा र मघौटा नृत्य नाच्ने गर्दछन् । रातकै बेला अन्ती चामलको पिठोबाट बनेका ढिक्री, तिलको लड्डु, खेरिया, तरुल, गैँजी, उसिनेको चामलको भात खाने गरिन्छ । 

रातभर जाग्राम रहेका थारु समुदायले बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छेअनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने चलन  छ । 

प्रतिक्रिया