जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनःस्थापना गर्न सांसदको माग

जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनःस्थापना गर्न सांसदको माग

काठमाडौँ -   राष्ट्रियसभाका सांसदहरुले जाजरकोट भूकम्प पीडितहरु जाडोका कारण विभिन्न रोग र अभावबाट प्रभावित भएका भन्दै तत्काल उचित राहत र पुनःस्थापनाको माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भैरबसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सरकारले घोषणा गरेको राहत रकम अझै सबै परिवारले नपाएको उल्लेख गर्र्दै तत्काल उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । भूकम्प पीडितको व्यवसाय नष्ट भएको उल्लेख गर्दै उहाँले सरकारले उनीकहरुको पुनःस्थापनाको पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद मोहम्मद खालिदले संविधानमा भएको व्यवस्था बमोजिम देशभित्र बोलिने सबै राष्ट्रिय भाषालाई समान स्थान दिएर सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले दुई प्रतिशतको हाराहारीमा बोलिने मुस्लिम समुदायसँग जोडिएको उर्दु भाषालाई राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

सांसद डा बिमला राई पौड्यालले विगतदेखि नै नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हाल विश्वविद्यालयलको स्तर खस्किएको भन्ने टिप्पणीप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई योग्यताका आधारमा नियुक्त हुनुपर्नेमा जोड दिनुभयो ।
 
सांसद युवराज शर्माले त्रिभुवन विश्वविद्यालयमा भागबन्डा गरेर उपकुलपति नियुक्ति गर्न नहुने बताउँदै राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी ढङ्गले अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया