सिमकोटमा चोरीका घटना बढ्दै

सिमकोटमा चोरीका घटना बढ्दै

सिमकोट – सिमकोट बजारमा चोरीका घटना बढ्दै गएकोे पाइएको छ। मानिस नभएको मौका पारी दिउँसो र रातिको समयमा घर–घरबाट सामान चोरी हुने क्रम बढेको हो।

सिमकोट बजारका कुण्डला भण्डारीले रातिको समय पारी आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा, तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताउनुभयो । उहाँको घरबाट दुई दिनमा ती सामान चोरी भएका हुन्। उहाँले सामान चोर्न आउने मानिसले आफू सुतेको कोठाको बाहिरपट्टि चुकुल बन्द गरेर ती सामान चोरी गरी लगेको बताउनुभयो ।

त्यसैगरी सिमकोट बजारकी बास्कला फडेराले दिउँसो धोएर सुकाएकै अवस्थाका नौ वटा कपडा चोरी भएको बताइन्। उनले आफ्नो मात्र नभई छिमेकीका काँसको थाल, जुत्तासमेत चोरी भएको बताउनुभयो ।

चोरी गर्न आउने मानिसले घरमा बाहिर जे–जे सामान भेट्टाउने गरेका छन् ती सबै उठाएर लैजाने गरेको पाइएको छ। सिमकोट बजारमा चोरीका घटना बढिरहेको उजुरी प्रहरीसँग आउने गरेको प्रहरीले जनाएको छ। एक हप्तायता मात्र प्रहरीसँग सात वटा उजुरी आएकोमा त्यसमा चार वटाको चोरी गर्ने मानिस पत्ता लगाएर सामान सम्बन्धित ब्यक्तिलाई जिम्मा लगाएको र तीन वटा भने प्रहरीले खोजी भइरहेको जनाएको छ।

चोरीमा संलग्न नाबालक भएकाले पहिलो पटकलाई प्रहरीले चेतावनीसहित छाडिएको जनाएको छ। कतिपयले चोरी भए पनि उजुरीसमेत दिने गरेका छैनन्।

प्रतिक्रिया