चोखाललाई ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार

चोखाललाई ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार

गण्डकी -  नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’बाट बागलुङको सामुदायिक रेडियो गलकोट एफएमका सम्पादक एवं गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित हुनुभएको छ । 

बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले रु १० हजार राशिको सो पुरस्कार पत्रकार चोखाललाई समर्पण गर्नुभएको हो । 

विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक÷प्रकाशक ओमकार गौचनका नाममा स्थापित सो पुरस्कार दोस्रोपटक पत्रकार चोखाललाई प्रदान गरिएको हो । 

यसअघि उक्त पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित भइसक्नुभएको छ । ग्रामीण भेगबाट पत्रकारिताको विकास र उत्थानमा योगदान गरेबापत पत्रकार चोखाललाई पुरस्कृत गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
 
पत्रकार चोखालले विसं २०५६ मा महिमा साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । २४ वर्षदेखि अनवरतरुपमा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप चोखाललाई सम्मानित गरिएको ‘नयाँ विश्व’का सम्पादक रहनुभएका राजभण्डारीले बताउनुभयो । 

सोही समारोहमा बागलुङको ताराखोला गाउँपालिका–१ स्थित जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नइन्द्रबहाुदर गुरुङलाई ‘नयाँ विश्व सम्मान’ प्रदान गरिएको थियो । 

विसं २०६० देखि सो विद्यालयको प्रधानाध्यापक पदमा रही विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक विकासमा कुशल नेतृत्व प्रदान गरेको भन्दै गुरुङलाई सम्मान गरिएको नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माले बताउनुभयो । वार्षिकोत्सवका अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी, विज्ञापनदाता लगायतलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया