भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम

भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम

जाजरकोट -  भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ ।  

गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो । 

उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उहाँको भनाइ छ ।

उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् ।

संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिनुभयो । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उहाँले बताउनुभयो ।  

भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताउनुभयो । कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो ।   

प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ । उहाँका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । 

त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताउनुभयो ।

नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो । “उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो”, उहाँले भन्नुभयो ।

बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया