मुगुमै बौद्ध शिक्षा पढाइ हुने

मुगुमै  बौद्ध शिक्षा पढाइ हुने

मुगु -   जिल्लाको पूर्वी भेगमा रहेको मुगुम कार्मारोंग गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । निजी लगानीमा निर्माण भएको ओर्गेन डोढुल लिङ गुम्बामा आधारभूत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो ।  

बौद्ध शिक्षा पढ्नका लागि मुगुम कार्मारोंगका लामा समुदायका ५० देखि एक सय जनासम्म बालबालिका बर्सेनि काठमाडौँ र भारत जाने गर्दछन् ।

रिम्पोचे हिस्से साम्फो र उहाँकी धर्मपत्नी रिम्पोचे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा ओर्गेन डोढुल लिङ गुम्बा निर्माण भएको हो । सोही गुम्बामा पूजाआजा र बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताउनुभयो । 

नयाँ गुम्बाको निर्माण पूरा भएपछि छोङ्ढुप पूजासहित विधिवत रूपमा गुम्वा उद्घाटन भइसकेको छ । गुम्बा निर्माण भएपछि बौद्ध शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।  

“हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकामा हामी खुसी छौँ । अब काठमाडौँ, भारत जानुपर्ने बाध्यता रहेन”, वडा नं ४ कार्तिक गाउँका दाक्पा तामाङले भन्नुभयो, “हाम्रा लागि धेरै सहज भयो देवता, लामाको पूजाआजा र प्रार्थना गर्न सहज भएको छ” 

प्रतिक्रिया