सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

धुलिखेल -   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई  तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले  ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो ।

गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताउनुभयो । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गर्नु भएको थियो ।

 सुन्तलाका बोट सुक्ने, मर्ने तथा  भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताउनुभयो । 

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिनुभयो । 

सुन्तला खेतीका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो । पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका विरुवा बाँड्ने योजना बनाएको जनाइएको छ । यो वर्ष यहाँका किसानले रु दुई करोडभन्दा बढीको सुन्तला बेचेका थिए ।  धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले, सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन् । 

प्रतिक्रिया