काठमाडौँमा प्रदेशस्तरीय कला प्रदर्शनी

काठमाडौँमा प्रदेशस्तरीय कला प्रदर्शनी फाइल तस्बिर

काठमाडौँ -  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा प्रदेशस्तरीय कला प्रदर्शनी हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक प्रदेशस्तरीय कला प्रदर्शनी सुरु गरेअनुसार काठमाडौँमा बागमती प्रदेशस्तरीय कला प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रतिष्ठानले यसअघि छ वटै प्रदेशमा कलाप्रदर्शनी आयोजना गरिसकेको छ । 

काठमाडौँमा आगामी सोमबारदेखि सुरु हुने प्रदर्शनीमा दुई सय ३० कलाकारका दुई सय ५० भन्दाबढी कलाकृति समावेश हुने प्रतिष्ठानले जनाकारी दिएको छ । कला प्रदर्शनीको सबै तयारी पूरा भएको पनि प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो । 
    
उहाँका अनुसार कलाकृति सजाउनेलगायत भोलिको औपचारिक कार्यक्रमबाहेक सबै तयारी सकिएको छ । प्रदर्शनी यही चैत १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । 

‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल नाराका आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’बाट छानिएका कलाकृतिलाई समेटेर आगामी जेठ १५ देखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गरिँदै छ । 

यसअघि काठमाडौँमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकामा यसपटकदेखि प्रादेशिक प्रदर्शनीको पनि थालनी भएकाले देशभरी नै कला प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको भनाइ छ । 

सङ्घीयता कार्यान्वयन भएपछि प्रतिष्ठानले त्यसलाई पहिलो पटक अभ्यासमा ल्याएको हो । प्रतिष्ठानले कर्र्णाली प्रदेशमा गत फागुन १७ गतेदेखि २१ गतेसम्म, गण्डकीमा गत फागुन १९ गतेदेखि २३ गतेसम्म, सुदूरपश्चिममा गत फागुन २० गतेदेखि २४ गतेसम्म, लुम्बिनीमा गत फागुन २२ गतेदेखि २६ गतेसम्म, कोशीमा गत फागुन २९ गतेदेखि यही चैत ३ गतेसम्म र मधेसमा यही चैत २ गतेदेखि ५ गतेसम्म प्रदर्शनी सम्पन्न भइसकेको छ । 

‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४’ को दफा ५ को खण्ड ९ट० को आधारमा स्वीकृत ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ र ‘प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ बमोजिम सातै प्रदेशमा कला प्रदर्शनी भएको र प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिहरु नै आगामी जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरिएको छ ।

कुलपति हार्तम्छालीले यसपटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिका साथै बहुुआयामिक पाटालाई समेट्न खोजिएको बताउनुभयो । यसपटक  सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा, विविध विधा÷उपविधा र क्षेत्रगत पुुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सिर्जनात्मक कला क्रियाकलाप पनि समावेश गरिने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताउनुभयो ।

प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रन्टमेकिङ) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया