लैंगिकता स्वमूल्यांकनमा चामुण्डाबिन्द्रासैनीलाई ५२ अंक प्राप्त

लैंगिकता स्वमूल्यांकनमा चामुण्डाबिन्द्रासैनीलाई ५२ अंक प्राप्त

दैलेख - लैंगिक समानताका पाँच सूचक, २२ वटा उपसूचकको स्तरको अवस्था जाँच्न एक सय वटा प्रश्नावलीमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ५२ अंक प्राप्त गरेको छ । सोमबारदेखि हिजो बुधबारसम्म जबमुकाँधमा चलेको लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्यांकनमा झण्डै आधा जति काम गर्न बाँकी रहेको अवस्था देखिएको छ । 

लैंगिक समानता तथा सामाजिक परीक्षण कार्यदल, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु, विषयगत शाखा प्रमुख, बाल क्लव, लैंगिकता सवालमा काम गरिरहेका गैसस प्रतिनिधि समेतको सहभागितामा स्वमूल्यांकन गरिएको हो । 

लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्याकन कार्यक्रमको समापन कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले नगरपालिकाबाट लैंगिकताका सवालका कार्यक्रम सञ्चालित कार्यक्रमहरुलाई अझैं प्रभावकारी बनाउदै लैजान सुझाव दिनुभयो ।

प्रमुख शाहीले भन्नुभयो ‘लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्यांकनमा ५२ अंक मात्र आएको स्थितिले हामीले लगानी बढाउन आवश्यक देखियो नै तर बजेट अनुसार गरिएका कार्यक्रमहरुको प्रभावकारीता पनि बढाउनपर्छ ।’

त्यस अवसरमा उपप्रमुख मनसराकुमारी शर्माले आगामी वर्षको लागि बजेट बनाउने तयारी भइरहेको बेला लैंगिक उत्तरदायी बजेट बनाउन, त्यस अनुसारका कार्ययोजना तयार गर्न योजना शाखालाई आग्रह गर्नुभयो । 

योजना शाखा सहायक प्रमुख खगेन्द्रबहादुर शाही, महिला तथा बालबालिका शाखा प्रमुख माया सिंह शाही, सूचना प्रविधि शाखा प्रमुख मनोज लम्सालले लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्यांकन मापन विधि र स्तरीकरणको विषयमा सहजीकरण गर्नुभएको थियो । 
 

प्रतिक्रिया