पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख - पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । उपकरण लैजान सडक चौडा पार्ने कम्पनीले गडगडे ढुंगाहरुका कारण उपकरण बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रक दुल्लू नगरपालिका–३ पालीमा सडकमै पल्टिएको थियो । 

नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा लगिँदै गर्दा दुर्घटना ठूला पाँच वटा मध्ये म.प. ०३००१ ख ७८१७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पादुका खोला नजिक पालीमा दुर्घटना भएको थियो । 

सडक चौडा पार्ने कम्पनीले सडकमा छोडेको गडगडे ढुंगाहरुका कारण सडकमै पल्टिएको ट्रक दुई वटा क्रेनको सहायताले उठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । ट्रकले बोकेको मेसिन र ट्रकलाई छुट्टाछुट्टै उठाइएको उहाँले बताउनुभयो ।  

घटनाको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी भुसाल, दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहाल, सशस्त्र प्रहरीबल नेपाल आश्रित गुल्म दैलेखका प्रमुख सशस्त्र प्रहरी डीएसपी द्रोण ढकाल, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख हिरेन्द्रबहादुर कुँवर लगायतका सुरक्षा अधिकारीहरु दुर्घटना स्थल पुगी उद्धारको प्रवन्ध गर्नुभएको थियो ।  

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषण स्थलमा पुगिसकेका छन् । जम्मा १ सय २८ वटा मध्ये अरु नेपालगञ्ज, सुर्खेत र दैलेखका विभिन्न स्थलमा छन् । सडक साघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजले पुग्न समस्या भएको छ ।

दैलेख सुर्खेत ६५ किलोमीटर मोडहरु धेरै भएको र ग्रेड नमिलेको भन्दै आयोजनाले सुर्खेतदेखि कर्णाली राजमार्गको साँगेतडा हुँदै जम्बुकाँध पुगेर मध्यपहाडी राजमार्गबाट पादुकादेखि रावतकोटको जलजलेस्थित पेट्रोलियम अन्वेषण स्थलमा उपकरण बोकेका ट्रकहरु लैजाने गरिएको छ । 

साना ट्रकहरु सुर्खेतदेखि दैलेख हुदै मध्यपहाडी राजमार्ग हुदै आयोजनास्थल जलजले पुग्न ७३ किलोमीटर दूरी पार गरेर पुग्ने गरेका छन् । तर कर्णाली राजमार्ग हुदै मध्यपहाडीको सडक हुदै आउने ट्रकलाई झण्डै एक सय किलोमीटर दूरी पर्दछ । 

अन्वेषणका लागि उपकरणहरु ल्याउन सडक फराकिलो पार्न कर्णाली राजमार्गको सुर्खेतदेखि साँगेतडा र साँगेतडादेखि मध्यपहाडी राजमार्ग जोड्ने जम्बुकाँधसम्मको खण्ड ४ करोड ३६ लाख खर्च भएको तर सडक फराकिलो नभएको कारण अहिले पुनः ठाउँमा मोड सुधार गर्न लगाइएको छ । 

उपकरणहरु ल्याउने १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेशिन ल्याउन सडक फराकिलो पार्न स्क्याभेटरले भित्ताबाट खसालेको ढुंगा सडकमै अत्रत्यत्रै छोडिदिएको कारण नै म.प. ०३००१ ख ७८१७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक सडकमा पल्टिएको हो । 

हामीले दिएको मार्गदर्शन अनुसार सडक फराकिलो पार्ने र मोड सुधार भएको कारण अन्वेषणका लागि उपकरणहरु बोकेका ठूला ट्रकहरु गन्तव्य पु¥याउन गाह्रो भएको खानी तथा भूगर्व विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले  दुखेसो पोख्नुभयो । 

२०७२ चैतमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ देखि प्रारम्भिक सर्वेक्षणपछि अहिले जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङ्ग काम थाल्ने तयारी छ । 
 

प्रतिक्रिया