बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी

बाली प्रवर्द्धन गर्न जुम्लामा कृषि कचहरी

जुम्ला -   स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार कृषि कचहरी भएको छ । सदरमुकाम खलङ्गा बजारमा भएको बृहत् कृषि कचहरी गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले आयोजना गरेको हो । 

किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाहीले  भन्नुभयो, “कृषिका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेका छन् यसको कसरी कार्यन्वयन भएको छ । आगामी दिनमा के कस्तो नीति बनाउनुपर्छ भन्ने विषयमा कचहरीमा बृहत् छलफल भएको छ ।” सबै तहका सरकारका लागि कृषिसम्बन्धी नीति निर्माणमा कचहरीबाट योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्णालीको कृषिका निम्ति पर्याप्त बटेज विनियोजना गर्दै दीर्घकालीन  कृषि योजना सार्वजनिक गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । 

निःशुल्क आँखा शिविर

यसैबीच, खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । 

नेपाल नेत्र ज्योति सङ्घ र चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको शिविरमा  स्थानीयवासीले नेत्र परीषण गराएका थिए । हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा  शिविर सञ्चालन गरिएको हो । 

नेपाल नेत्रज्योति सङ्घ जुम्लाका अनुसार शिविरमा सात सय ३९ जनाको परीषण गरिएकामा  एक सय २७ जनाको शल्यक्रिया गरिएको थियो । बुधबार सम्पन्न भएको तीनदिने शिविर डा कृष्णा गुरुङ र राजेश शर्माको अगुवाइमा सञ्चालन भएको थियो । 

प्रतिक्रिया