मौसमी फ्लुका बिरामीले भरिए स्वास्थ्य संस्था

मौसमी फ्लुका बिरामीले भरिए स्वास्थ्य संस्था

हुम्ला -   हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ । 
 
अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताउनुभयो । स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो ।

 लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको इन्चार्ज भण्डारीले बताउनुभयो । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उहाँको भनाइ छ ।    
 
अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताउनुभयो । 
 
एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताउनुभयो । जैसीले भन्नुभयो, “अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पुर्याएको छ ।” 

श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् । 

प्रतिक्रिया