शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान

शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान

सर्लाही -   निःशुल्क पिउने पानी सुविधाका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ । आज हरिवन नगरपालिका–११, बजार क्षेत्र र वडा नं ९, नयाँरोड चोकमा आधुनिक ‘वाटर डिस्पेन्सर’ जडान गरिएको हो । 

उद्योग वाणिज्य सङ्घ हरिवनको पहलमा विभिन्न दाताको सहयोगमा पिउने पानीको मेसिन जडान गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिनुभयो । ‘वाटर डिस्पेन्सर’ जडानपछि बजार आउने–जाने नागरिकले निःशुल्क स्वच्छ पानी पिउन पाउने उहाँको भनाइ छ । 

पोतेका अनुसार हाललाई हरिवन बजार क्षेत्रमा दुई थान र नयाँरोड चोकमा एक थान मेसिन जडान गरिएको हो । ‘वाटर डिस्पेन्सर’बाट चिसो–तातो पानी निकालेर जो कसैले सजिलै पिउन सक्ने उहाँको भनाइ छ । 

यस क्षेत्रका सार्वजनिक ट्युवेलहरु खडेरीका कारण सुक्ने भएकाले बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता थियो । अब पानी पिउनुपर्दा पैसा नभएर काकाकुल हुनु नपर्ने सङ्घका सदस्य युवराज भण्डारीले बताउनुभयो । उक्त वाटर डिस्पेन्सर खरिदका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

तीन थान मेसिन रु एक लाख ३० हजारमा खरिद गरिएको थियो । तत्कालका लागि एक थान मेसिन सञ्चालनको जिम्मा हरिवनमा रहेको चण्डेश्वरी डिपार्टमेन्टल स्टोर्स र दुई थान प्रभु बैङ्क हरिवन शाखाले लिएको सङ्घका अध्यक्ष पोतेले जानकारी दिनुभयो । उहाँका अनुसार हरिवन खानेपानी र बृहत् खानेपानी बागमतीले निःशुल्क खानेपानी लाइन जडान गरिदिएका छन् ।

मेसिनको औपचारिक कार्यक्रमबीच आज उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ९कमल० को प्रमुख आतिथ्यतामा मेसिनको उद्घाटन गरिएको हो । कार्यक्रममा नगरकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार थापा, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । सोही कार्यक्रमबीच सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया