मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा  -   उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभयो  । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उहाँले बताउनुभयो । 

“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उहाँले भन्नुभयो, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”

उहाँले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताउनुभयो । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भन्नुभयो, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताउनुभयो । “प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन”, उहाँले भन्नुभयो । 

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया