वडा र गाउँटोलसम्म दलित जागरण अभियान

वडा र गाउँटोलसम्म दलित जागरण अभियान

दैलेख – भगवतीमाई गाउँपालिकाका ७ वटै वडामा जातीय विभेद र छुवाछूत विरुद्ध दलित जागरण अभियान थालिएको छ । भववतीमाई दलित युवा सञ्जालको अगुवाईमा सञ्चालन भएको अभियानमा दलित समुदाय माथि भइरहेको जातीय विभेद, छुवाछूत समस्या विरुद्ध अभियान थालिएको हो । 

दलित समुदायको आर्थिक हैसियत सुधार गर्न, सामाजिक तथा साँस्कृतिक रहनसहनलाई समय अनुकूल अवलम्बन गर्ने, स्वास्थ्य सचेतनाको अभिबृद्धि र शैक्षिक जागरण बढाउन वडास्तर र गाउँटोलमा सञ्जालले सहजीकरण गरिरहेको छ ।  

वडास्तर र गाउँटोल गरिएका दलित जागरण अभियानले दलित समुदायले अपनाउनुपर्ने रणनीति विषय विचार विमर्श गर्ने गरिएको छ । भगवतीमाई गाउँपालिकामा प्रतिनिधित्व गरिरहेका दलित जनप्रतिनिधिहरु, सामाजिक अगुवा समेतको सहभागितामा अभियान भइरहेका छन् । 

७ वटै वडामा अभियानका कार्यक्रम सकेर पालिका स्तरमा बृहत सचेतना कार्यक्रम गर्ने तय गरिएको भववतीमाई दलित युवा सञ्जालका अध्यक्ष बिमल बिश्वकर्माले जानकारी दिनुभयो । वडास्तर र गाउँटोलमा दलित जागरण अभियान सञ्चालन गर्ने क्रममा शनिवार वडा नं. १ पगनाथ र २ रुम, आइतबार वडा नं. ३ मेहलतोली र ४ जगनाथमा सचेतना कार्यक्रम गरिएका छन् । 

भगवतीमाई गाउँपालिका वडा नं. ५ र ६ कट्टी गाउँमा आज सोमबार दलित जागरण अभियान सचेतना कार्यक्रम तय गरिएको बताइएको छ । सचेतना कार्यक्रमहरुमा दलित जनप्रतिनिधिहरु, सामाजिक अगुवा समेतको सहभागिताहरुले सहजीकरण गरिरहनुभएको छ । 

सचेतना कार्यक्रममा भगवतीमाई गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्तबहादुर बिक, गालसरा बिक, बत्ति बिक लगायतका दलित जनप्रतिनिधिहरु, दैलेखका अधिकारकर्मी पत्रकार अमर सुनार लगायतका सामाजिकहरुले गाउँपालिका स्तरको बृहत कार्यक्रमको बारे प्रकाश पार्ने गर्नुभएको छ । 

भगवतीमाई गाउँपालिका क्षेत्रमा सामाजिक अगुवाई गरिरहनुभएका रामबहादुर नेपाली, मनिषा सोनी, हरिबहादुर बिक, जयबहादुर बिक, भूपेन्द्र सोनी, भीमबहादुर बिक, कर्णबहादुर बादी, स्वास्थ्यकर्मीद्वय मिलन बिश्वकर्मा, शेरबहादुर बिश्वकर्मा, शिक्षकद्वय महेश बिश्वकर्मा र शेरबहादुर बिक समेतले सचेतना कार्यक्रमहरुमा गाउँगाउँ पुगेर सहजीकरण गरिरहनुभएको छ ।

 

प्रतिक्रिया