क्वाम्मा खर्सुनीगैरा देखि खानडाँडा जोड्ने गोरेटो बाटो निर्माण

क्वाम्मा खर्सुनीगैरा देखि खानडाँडा जोड्ने गोरेटो बाटो निर्माण

रुकुमपश्चिम -  जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर -८ क्वाम्मा खोलाको खर्सुनीगैरा देखि खानडाँडासम्म पुग्ने गोरेटो बाटो निर्माणलाई वडाले प्राथमिकता दिएको छ ।

स्थानीलाई आवतजावत गर्न सहज होस भनेर वडाले खुर्सनीगैरा देखि खानडाँडा पुग्ने गोरेटो बाटो निर्माणलाई प्राथमिकता दिएको हो । यद्यपि बजेट अभावले खानडाँडासम्म पुग्न अझै अर्को आर्थिक वर्ष पर्खिनुपर्ने वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा करिब ३ सय २० मिटर गोरेटो बाटो निर्माण गरिएको छ । गोरेटा बाटो निर्माणमा वडाको ६ लाख बजेट खर्च भएको छ । 

क्वाम्माबाट खानडाँडाको दुरी करिब १ किलोमिटर रहेकाका यस भन्दा पहिलेको वडा सरकारले ३ सय मिटर र चालु आवमा ३ सय २० मिटर गरेर जम्मा ६ सय २० मिटर बाटो निर्माण गरिएको छ ।

अझै खानडाँडासम्म ३ सय ५० मिटर भन्दा बढी बाटो निर्माण गर्नुपर्ने वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । निर्माण गर्न बाँकी रहेको बाटो आउँदो आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरेर सम्पन्न गर्ने वडाको योजना रहेको छ । 

गोरेटो बाटोमा स्थानीय स्रोत, साधन प्रयोग गरिएको छ । गोरेटो बाटो निर्माण गर्दा स्थानीय ५० जनाले रोजगारी पाएका छन् । मिस्त्रीले प्रतिदिन १ हजार १ सय ५५ पाउँदा अन्य कामदारले ८ सय ७० रुपैयाँ ज्याला पाएका हुन् । प्रत्येक कामदारले ३५ देखि ४० दिनसम्म रोजगारी पाएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 गाउँमै ढुङ्गा खानी रहेकोले गोरेटो बाटो निर्माणमा बजारको सामग्री बालुवा सिमेन्ट लगायत प्रयोग गरिएको छैन । बाटो निर्माण भएसँगै खुला र फराकिलो भएकाले स्थानीयलाई आवतजावतमा सहज भएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया