‘सेवाग्राहीसंग प्रजिअ’ कार्यक्रमले अल्झेका काम सजिलै सुल्झिंदै

‘सेवाग्राहीसंग प्रजिअ’ कार्यक्रमले अल्झेका काम सजिलै सुल्झिंदै
सुन्नुहोस्

दैलेख – गुराँस गाउँपालिका–६ जोरेबाँझकी खगिसरा नेपाली आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन र छोरी कल्पनाको नागरिकता बनाउने कामले सोमबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुग्नुभएको थियो । छोरीको नागरिकता सजिलै बन्यो तर उहाँको राष्ट्रिय परिचयपत्र बनाउने काम अड्कियो । 

नागरिकतामा टाँसेको फोटो प्रष्ट छैन भनेर फाँटवालाले फर्काएपछि घर जाने तयारीमा हुुनुहुन्थ्यो, दिउँसो १ बजे सेवाग्राहीका मर्का सुन्न प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा पुग्नुभएको बेला उहाँले समस्या दर्शाउनुभयो । 

सिकायत सुनेपछि कम्प्यूटरले एसेप्ट गरिहाल्छ कि कोशिस गर्नुस् भनेर राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्यूटर अप्रेटर चन्द्राकुमारी शाहीलाई अह्राउनुभयो । नभन्दै कम्प्यूटरले मान्यो अनि खगिसराको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भयो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले आइतबारदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर पीरमर्का, गुनासो वा असन्तुष्टी सुन्ने र सके जति लचिलो भई सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाउनु भए अनुसार खगिसराको गाठो फुकेको हो । 

खगिसराको मात्र होइन नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय दैलेखमा सोमबार आवेदन दिएका चार जना महिलाले माइतीघर सुर्खेतबाट नागरिकता लिए नलिएको बुझ्न पठाइएको चिट्ठीको जवाफ पठाइदिन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्ला प्रशासन कार्यालय सुर्खेतको नागरिकता फाँटका कर्मचारीलाई आफैले फोन गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतको नागरिकता फाँटका कर्मचारीलाई उहाँ आफैले फोन गरेर भन्दै हुनुहुन्थ्यो ‘यहाँ सेवाग्राहीले नागरिकता बनाइसकेर गाडी चढेर गाऊँ फर्किन पर्छ, छिटो पठाइदिनुस् ।’ नभन्दै आधा घण्टामा चारै जनाको चिट्ठी आयो अनि काम पनि भयो । 

सेवाग्राहीहरुले कार्यकक्षमा पुगेर समस्या सुनाउन नसकेको महशुस भएपछि आफूले गुनासो सुन्न सेवाग्राही भएकै ठाउँमा पुग्दा खुलेर भन्न सजिलो परोस् भनेर ‘सेवाग्राहीसंग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रष्ट्याउनुभयो । 

अरु नै कामले जिल्ला प्रशासन कार्यालय पुग्नुभएका दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेलले भन्नुभयो ‘सेवाग्राहीसंग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम मौलिक र सह्रानीय प्रयास हो । यसबारे नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले फेसबुक स्टाटस लेखेर सेवाग्राहीप्रति जवाफदेहिताको प्रशंसा गर्नुभएको छ । 

२२ वर्ष अघि खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका भुसाल नासुदेखि शाखा अधिकृतसम्म लोक सेवाका परीक्षा पास गरेर उपसचिव तहमा पुग्नुभएको छ । उपसचिव भएको ८ वर्ष अवधिमा पहिलो पटक २०७४–२०७५ सम्म अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी हुँदा संसदीय निर्वाचन र २०७७–२०७८ मा प्यूठान जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना विपद कुसल व्यवस्थापन गर्नुभएका ती जिल्लाका नागरिक समाज र पत्रकारहरुले प्रशंसा गर्ने गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी भुसालले सेवाग्राहीसंग आफ्नो कार्यालयले दिने सेवा मात्र होइन, समग्र विकासको गतिविधि र सामाजिक रहनसहन समेतको कुरा सोध्ने गर्नुभएको छ । लैंगिक हिंसा, जातीय विभेद वा यस्ता समस्या र यातायात सेवा बारे दैनिक जीवनका समस्या समेत जानकारी लिने गर्नुभएको छ । 

दैलेखको प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा रहनुभएको पाँच महिना अवधिमा भुसालको पहलमा गएको फागुन ४ गते विकासका लागि सम्वाद कार्यक्रम गरेर दैलेखको पेट्रोलियम अन्वेषण, मध्यपहाडी राजमार्ग, राकमको नयाँ सहर आयोजनाको कामलाई गति बढाउनुभएको छ । 

जिल्लामा लैंगिक हिंसा, छाउपडी प्रथा, बाल विवाह, जातीय विभेद लगायतका सामाजिक सवालमा स्थान विशेषमा समस्या पहिचान गरिसकेको त्यस अनुसार स्थानीय सरकार, नागरिक समाज संस्था र सराेकारवाला समेतकाे सहकार्यमा परिणाममुखी सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया