कांग्रेस-एमालेले पहिले भनेको सात प्रदेशमा जान एमाओवादीको प्रस्ताव

कांग्रेस-एमालेले पहिले भनेको सात प्रदेशमा जान एमाओवादीको प्रस्ताव

भोलि छलफल गरेर कांग्रेस-एमालेले जवाफ दिने

शीर्ष नेताहरू सम्मिलित आजको बैठकमा एनेकपा माओवादीले सीमांकनको विवाद सुल्झाउन कांग्रेस-एमालेले ९ बुँदे सहमति मार्फत प्रस्ताव गरेको सात प्रदेशकै खाकामा जान सुझायो।

६ प्रदेशको सीमांकनमा धेरै समस्या देखिएको र एमालेले भने जस्तो पाँच प्रदेशमा जान नसकिने भन्दै एमाओवादीले बरू आफ्नो पार्टी कांग्रेस-एमालेले सुरूमा प्रस्ताव गरेको सात प्रदेशमा जान राजी भएको जनाएको थियो।

अघिल्लो वर्ष माघ पाँच गते कांग्रेस-एमालेको सात प्रदेशको प्रस्ताव संविधान सभामा पेश हुन एमओवादीले नदिएपछि संसदमै झडप र तोडफोड भएको थियो।

आज कांग्रेस-एमालेले सात महिना अघिनै राखेको सात प्रदेशको प्रस्तावमै फिर्ता जाउ भन्ने एमाओवादीको भनाइ आएपछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमाओवादीलाई धन्यवाद दिँदै सात प्रदेशमा जान सकिने बताएका थिए।

एमाले नेतृ विद्या भण्डारीले ‘अब ६ वा ७ प्रदेशको बहसमा नलागौं पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश मानेर अघि बढौं,’ भन्ने प्रतिक्रिया दिए पनि एमालेले अन्तत: पार्टीभित्र सल्लाह गरेर भोलि आफ्नो धारणा राख्ने बतायो।

प्रधानमन्त्री सुशील कोइराला भने एमाओवादीको सात प्रदेशमा जाने प्रस्ताव आएपछि झोक्किए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सात प्रदेश पहिलेको आफ्नै प्रस्ताव भएको भन्दै थिए, कोइराला झोक्किए,‘तपाईँहरू मलाई झुक्याएर कहाँ कहाँ सही गराउनुहुन्छ?’

त्यति भनेर कोइराला जुरूक्क उठेर हिँडे। ढोकामा पुगिसकेका कोइरालालाई एमाओवादी नेता नारायणकाजी श्रेष्ठले सम्झाउन खोजे, तर कोइराला रोकिएनन्।

एमाओवादी नेताहरुले बैठक कोठामै रहेका नपाली कांग्रेसका अन्य नेता देउवा, पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालाई सोधे, ‘के खेलाची हो यो, हामी भने जसरी पनि संविधान लेखौं भनेर पहिले आफैंले बिरोध गरेको प्रस्ताव मानिरहेका छौ, तपाईँहरूले भने झन् बिगार्न तिर लाग्नुभयो।’

देउवाले ‘नैतिक’ रूपमा पनि कांग्रेस-एमाले आफूले राखेको सात बुँदे प्रस्तावबाट भाग्न नमिल्ने बताए। तर त्यसको औपचारिक निर्णय कांग्रेसका नेताहरूले भोलि बिहान प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्र गर्न सक्ने बताए।

अन्तिममा कांग्रेस र एमालेले आन्तरिक छलफल गरेर आएपछि भोलि बसेर सहमतिमा पुग्ने भन्दै नेताहरु निक्लिए।

यस्तो छ सात प्रदेशको खाका

याे सेटाे पाटीवाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया