योगदान युगौँसम्म अविस्मरणीय

योगदान युगौँसम्म अविस्मरणीय

Sher Bdrप्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उहाँका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ । संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला गणतन्त्र नेपालको छैटाँै प्रधानमन्त्री हुनुहुन्थ्यो । कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख हुनुभएको थियो । गएराति १२ः५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भएको थियो । मैले पुर्व प्रधानमन्त्री तथा काँग्रेशका निवर्तमान स्वर्गीय सभापती शुसिल कोइरालाका बारेमा उनले गरेका केहि महत्वपुर्ण काम तथा प्राप्त उपलब्धिका तथ्यहरु पाठकमाझ केलाउने प्रयत्न गरेको छु । सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री बनेका हुन । कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए हाल उनि नेपाली कांग्रेस पार्टीका सभापतिका रुपमा सक्रिय राजनीतिमा खटदै पार्टीको १३ औँ महाधिवेशनको वाघडोर सम्हालीरहेका थिए । यसै क्रममा उहाँको गत मंगलबार विहान १२ बजेर ५० मिनेटमा दुखद निधन भएको छ । यो निधनले नेपाललाई संक्रमणकालीन राजनीतिक अवस्थाबाट पार लगाउन सक्ने अनुभवि, त्यागी राजनेताको अभाव सदैव खटकिरहनेछ । स्व सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी छन भने उनले विवाह समेत गरेनन् । उनि वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका हुन् । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन् शुसिल । वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए । उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए । वि.सं २०३६मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए । बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए । सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरे । उनले पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे । सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनैतिक नेताका रूपमा पनि परिचित थिए । उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् । उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए । पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ (सन् १९९९)मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए । सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनैतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए । कोइरालाले सन् २००१मा संसदिय दलको नेता भने शेरबहादुर देउबासँग हारेका थिए । २०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित, २०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य, २०५३ को काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित, २०५५ असोज २० मा उपसभापतीमा मनोनित, २०५६ साउन १० गते महामन्त्री मनोनित, २०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित, २०५७ जेठ १७ गते महामन्त्रीमा मनोनित, ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित, लगत्तै उपसभापतिमा मनोनित, २०६४ असोजमा दुई पार्टी एकीकरणपछि कार्यबाहक सभापति, २०६८ असोज ५ गते सम्पन्न १२ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित । २०७० माघ २७ गते व्यवस्थापिका संसदको वैठकमा दुई तिहाई मत ल्याएर मुलुकको ३७ औं प्रधानमन्त्रीका रूपमा चुनिए । पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए । ०४६ को जनआन्दोलनपछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए । ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गर्नुभएको थियो । राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उनले अत्यन्त क्रुर र अमानवीय यातना भोग्नुपरेको थियो । छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनले सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे । जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनि युरोपेली मुलुकमा खटिए ।युरोपबाट स्वदेश फर्किएर उनि पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा समेत होमीए । विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उनि बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरेका थिए । उनले पत्रकारका रुपमा काम काम पनि गरे । उनि पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकसमेत बनेका थिए । प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टीलाई वैचारिक रुपमा निर्देशित गरेको थियो । उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गर्नुभएको थियो । अन्त्यमा अब उनि हामीमाझ रहेनन् । उनले नेपाललाई नेपाल बनाउन खेलेको भुमिका सदैव सबै नेपालीले संझिरहनेछन । उनको यो दुःखद निधन प्रति गहिरो दुख प्रकट गर्दै दिवंगत नेताको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु ।

(लेखक नेपाल न्यूज दैनिकमा पत्रकारिता गर्नुहुन्छ ।)

प्रतिक्रिया