लोकमानको दादागिरी अब सहिन्न : डा. केसी

लोकमानको दादागिरी अब सहिन्न : डा. केसी

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन राजनीतिक दल र व्यवस्थापिका संसदलाई अल्टिमेटम दिएका छन्। शिक्षण अस्पतालमा आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले लोकमानसिंह कार्कीको दादागिरी सबैक्षेत्रमा ब्याप्त भएको र उनको समानान्तर गतिविधि बढेको भन्दै उनलाई महाअभियोग लगाउन अल्टिमेटम दिएका हुन्।

संवैधानिक पदमा बसेर कार्कीले व्यक्तिगत, पारिवारिक स्वार्थ र भ्रष्टहरूको पक्षमा वकालत गर्ने गरेको भन्दै केसीले दुई सातासम्मको समय दिएका छन्। दुई सातामा त्योसहित अन्य चिकित्सा क्षेत्रका बेथितिको अन्त्य नभए अनसनमा बस्ने केसीले बताएका छन्।
दुई साताभित्र माग पूरा नभए असार २६ गते अनसन बस्ने डा. केसीले बताएका छन्।
‘लोकमानलाई हटाउन दुई दिन पनि समय लाग्दैन, मैले दुई साता समय दिएको छु,’ डा. केसीले भने, ‘अचाक्ली भइसकेको छ, मैले राखेको माग जायज छ, पूरा हुनैपर्छ, पूरा गराउनैका लागि मैले आन्दोलन गरिरहेको छु।’
अहिले लोकमानको इसारामा मेडिकल काउन्सिल चलिरहेको भन्दै डा. केसीले भ्रष्टाचारीसँग मिलेर लोकमानले चिकित्सा क्षेत्रलाई सखाप पार्न लागेको आरोप लगाए। ‘विराटनगरका आफ्ना भतिजाको मेडिकल कलेजलाई विस्तारित कलेजको रुपमा सम्बन्धन दिन लोकमानको हात छ,’ उनले भने, ‘काठमाडौंमा एउटा मेडिकल कलेज उनका भाइको छ, त्यसलाई सम्बन्धन दिन लोकमान लागेका छन्।’
अख्तियार प्रमुख कार्कीले अहिले सबै क्षेत्रमा समानान्तर सत्ता सञ्चालन गरिरहेको आरोप डा. केसीले लगाएका छन्। भ्रष्ट र अपराधीसँग मिलेर लोकमानले काम गरिरहेको केसीले बताए। ‘लोकमानको दादागिरी अब सहिन्न,’ केसीले भने, ‘यस्तो मान्छेलाई संवैधानिक पदमा राख्नु हुँदैन।’
विभिन्न चार बुँदे माग राख्दै डा. केसीले आफ्नो मागको दोस्रो बुँदामा लोकमानलाई महाअभियोग लगाउन माग गरेका हुन्। त्यो बुँदामा लोकमानले आफ्नो र आफन्तको निहित स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका भ्रष्टहरूलाई संरक्षण दिएको आरोप लगाएका छन्।
अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकेमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेको र आफ्नो कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको आरोप उनले लगाएका छन्।
‘लोकमान र आयुक्तहरू सबै यो धन्दामा लागेका छन्, कसैले बोल्यो भने पक्राउ गरिहाल्छन्, पक्राउ गर्नका लागि बेनामे उजुरी भए पुग्छ, अरु केही चाहिँदैन,’ केसीले भने, ‘समानान्तर र निर्लज्ज तरिकाले लोकमानको हस्तक्षेप बढेको छ।’
‘अचाक्ली भयो, यदि यो हुन दियो भने स्वास्थ्य क्षेत्रमा अनियमितता बढ्दै जान्छ,’ उनले भने, ‘लोकमानले स्वास्थ्य र शिक्षामा पनि त्यतिकै प्रभावित पारिरहेका छन्। निरंकुश ढंगले। एकदम निर्लज्ज तरिकाले।’
लोकमानले केयुको प्रवेश परीक्षा रद्ध गराएर केही आफ्ना नजिकका भाइभारदार संलग्न गराइ परीक्षा गराएको भन्दै यो दादागिरीको नमूना भएको उनले बताए। ‘विश्वविद्यालयको आफ्नो छुट्टै नियम कानुन छ यो स्वायक्त संस्था हो, लोकमानले यहाँ बलजफ्ती आफ्ना नातेदार र भ्रष्टलाई संलग्न गराएर परीक्षा गराएका छन्।’
‘लोकमानको यो कूकृत्य अहिलेमात्र हैन, म पाँचौं अनसन बस्दा पनि लोकमानको पदच्यूत गर्न माग गरेको थिएँ। उहीबेला पनि उनले कूकृत्य गरेका थिए स्वास्थ्य क्षेत्रमा। त्यही भएर लड्न परिरहेको छ,’ उनले भने, ‘अख्तियारले हस्तक्षेप गर्ने हैन परीक्षाजस्तो विशेषज्ञ डाक्टर उत्पादन गर्ने ठाउँमा, राम्रै परीक्षा भइरहेको थियो, त्यो क्यान्सिल गर्न लगाएर, काउन्सिलमा हुँदा अनियमितता, धाँधली गरेका व्यक्ति जसलाई कारबाही गर्नुको सट्टा क्लिन चिट दिइयो, तिनैलाई परीक्षा सञ्चालन गर्न दिएका छन् लोकमानले। भ्रष्ट र अपराधीको मद्दत दिएर अधिकारको दुरुपयोग गरेका छन्।’
अहिले संसद अधिवेशन चलिरहेको र यही अधिवेशनबाट आफ्ना माग पूरा गराउन चाहेको केसीले बताए। माथेमा आयोगको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धि हाल संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न पनि केसीले माग गरेका छन्।
डा. केसीले आफ्नो आन्दोलन बेथिति, भ्रष्टाचार, अनियमितता, दण्डहीनता, संवेदनहीनता, आपराधिकरणविरूद्ध भएको बताएका छन्। यस्ता गतिविधि बढ्दा सबै क्षेत्र प्रभावित हुन पुगेको केसीको निष्कर्ष छ। आफूले गर्ने आन्दोलनले गुणस्तरीय स्वास्थ्य सेवाका निम्ति बाटो खोल्ने केसीको भनाइ छ।
साभार ः सेताेपाटी
 

प्रतिक्रिया