सत्तारुढ दलहरुले काँग्रेससँग छलफल सुरु गरे

सत्तारुढ दलहरुले काँग्रेससँग छलफल सुरु गरे

रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगातार तेस्रो पटक संसद् बैठक अवरुद्ध पारेपछि सत्तारुढ दलहरुले काँग्रेससँग छलफल सुरु गरेका छन् ।

संसद् बैठक स्थगित भएपछि संसद् भवनमै प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तारुढ दलका नेता र काँग्रेसका नेताबीच छलफल भएको हो । छलफलमा केही समय प्रधानमन्त्री ओली आफैं सहभागी थिए।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालले भुकम्प प्रभावितहरुलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान दिइनुपर्ने विषयमा सहमति जुटाउन चार दलीय संयन्त्र गठन गरेका छन् । चार दलीय संयन्त्रमा नेकपा एमालेका तर्फबाट भिम रावल र सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा र राप्रपा नेपालका तर्फबाट दिलनाथ गिरी छन्।

काँग्रेसले भने कृष्णप्रसाद सिटौला, चिनकाजी श्रेष्ठ र डा. प्रकाशशरण महतलाई संयन्त्रमा राखेको छ । बैठकमा काँग्रेस नेताहरुले भुकम्प प्रभावितहरुलाई एकमुष्टरुपमा दुई लाख रुपैयाँ दिइनुपर्ने माग सम्बोधन नभए मंगलबारको संसद् बैठक पनि चल्न नदिने बताएपछि सत्तारुढ दलहरु संयन्त्र गठन गरेर समस्याको समाधान खोज्न तयार भएका हुन्।

काँग्रेस नेता डा. महतले पार्टीले राखेका मागमा सम्बन्धमा बैठकमा छलफल भएपनि कुनै टुंगो नलागेकाले संयन्त्रले मंगलबार सहमति जुटाउन प्रयास गर्ने बताए।

संयन्त्रलाई सहमति जुटाउनका लागि समय दिनकै लागि संसद् बैठक मंगलबार अपरान्ह साढे तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया