चैतसम्म प्रचण्ड, त्यसपछि देउवा प्रधानमन्त्री

चैतसम्म प्रचण्ड, त्यसपछि देउवा प्रधानमन्त्री

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकारको नेतृत्व आधा–आधा समय मिलाएर लिने सहमति बनेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गत असोज महिनामा दिएको समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएपछि संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले र माओवादी दुबै दलका नेताहरूले गरेको सहयोग आग्रह कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको भोलिपल्ट मंगलबार माओवादी सरकारबाट बाहिरिँदै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन तयार भएको हो।
कांग्रेस नेता विमलेन्द्र निधि र माओवादी नेता कृष्णबहादुर महराबीच सोमबार दिनभर भएको गोप्य वार्तामा दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको एक नेताले सेतोपाटीलाई बताए।
सहमतिअनुसार पहिलो चरणमा कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने छन्।
माओवादी नेतृत्वको सरकारलाई आगामी फागनु-चैतसम्म चल्न दिएपछि त्यसपछि २०७४ माघसम्म माओवादीले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको ती नेताले बताए।
विगतमा पनि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच सत्ता सञ्चालनको भद्र सहमति गरे पनि त्यसको पालना गर्नबाट पछि हट्ने बानी परेका नेताहरुले यसपटक भने भद्र सहमतिको सट्टा लिखित सहमति नै हुने बताएका छन्।
सहमतिको पालनाबारे सोधिएको प्रश्नको जवाफमा माओवादी नेता महराले भने, ‘हामीले विगतबाट पाठ सिक्दै अब त्यस्तो स्थिति आउन नदिने गरी सहमतिको पालना गर्ने कुरामा हामी सचेत छौं।’
वैशाख २३ गते कांग्रेस र माओवादीबीच  भएको सात बु्ँदे सहमतिमा पहिलो ९ महिना अर्थात् जेठदेखि माघसम्म प्रचण्ड र त्यसपछि देउवाले सरकारको नेतृत्व वगर्ने सहमति भएको थियो। तर, उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुपहिले एकाएक माओवादी नेतृत्व सहमतिबाट पछि हट्दै एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिन तयार भएपछि कांग्रेस माओवादी सहमति भत्किएको थियो।
कांग्रेससँगको ७ बुँदे सहमति छाडेर एमालेसँग ९ बुँदे सहमतिका अतिरिक्त तीन बुँदे भद्र सहमति गरेको माओवादी नेतृत्व पछिल्लो समय एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सहमति अनुसार सरकारको नेतृत्व आफूलाई नदिएको भन्दै उनलाई दिएको समर्थन फिर्ता लिएको हो।
साभार ः सेताेपाटी

प्रतिक्रिया