एक शिक्षकको स्वीकारोक्ती : विद्यार्थी नजान्ने हैन, हामीले नसिकाएको !

          |   प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३     ::: 319 पटक पढिएको   |  
–ओडराज अधिकारी, ताप्लेजुङ / ‘मेरो हजुरबुवा (धर्मानन्द), बुवा (टीकाप्रसाद) र काकाहरु पनि शिक्षक नै हुनुहुन्थ्यो । ५/६ कक्षा पढ्दादेखि नै शिक्षण पेशाप्रति नजानिँदो तवरले म आर्कर्षित भएँ । हजुरबुवाले गाउँमै शिक्षा दिने काम गर्नुभयो । अहिले मैले पढाउने विद्यालय स्थापनामा पनि उहाँले भूमिका खेल्नुभयो । यस हिसाबले हाम्रो परिवारमा शिक्षण पेशा पुख्र्यौली पेशा जस्तै बन्न पुगेको छ ।

म ६/७ कक्षामा पढिरहेको बखत बुवाले कापी जाँच गरिरहनु भएको बेला मलाई ‘विद्यार्थीले लेखेको कापी म आफैंले जाँच्न पाए त म पनि ठूलो मान्छे पो हुन्थे?’ भन्ने लाग्थ्यो । त्यसै बेलादेखि नै मेरो दिमागमा शिक्षण पेशा राम्रो रहेछ भन्ने प्रभाव परेको थियो र, शिक्षण पेशाप्रति मेरो जानीनजानी झुकाव बस्यो ।

मैले गाउँकै स्कुल (सिनाम मावि) बाट एसएलसी दिएँ र इलाम बजारमा बसेर स्नातकसम्म पढेँ । त्यसपछि त्रिवि कीर्तिपुरमा अंग्रेजी विषयमा स्नातकोत्तर गर्न भर्ना भएँ । त्यही बेला भक्तपुरको थाकलमथमा अंगे्रजी विषय शिक्षक चाहिएको कुरा विज्ञापनबाट थाहा पाएँ । दरखास्त दिए पछि शिक्षक छनोटका लागि आवश्यक प्रक्रिया पु¥याएर मलाई स्कुलले नियुक्ति दियो । मैले २०५४ साल साउन १२ गते नियुक्ति लिएर २०७१ सालको भदौ २ गतेसम्म अंग्रेजी पढाएँ ।

शिक्षण पेशा अत्यन्तै सुन्दर पेशा हो । शिक्षण पेशा अँध्यारोबाट उज्यालोमा ल्याउने पेशा हो, त्यसैले अत्यन्त सुन्दर छ । हुन त अहिले कमाइ हुन्न भन्ने पनि गर्ने गरिन्छ । मेरो विचारमा धन कमाउनु र शिक्षा दिनु र लिनु नितान्त फरक विषय हुन् ।

अंग्रेजीको अनुभव

शिक्षण गर्दा निक्कै आनन्द आउँछ । शहरमा भन्दा गाउँमा अंग्रेजीको बेश (जग) छैन । अंग्रेजी भाषा हाम्रो बोलीचालीको भाषा पनि होइन, अझ बावुबाजे कतिपयले त यसलाई गाइखाने भाषा भनेर छि छि र दूरदूर गरिएको विषय भयो । स्कुलमा नियुक्त भएपछि सुरुमा कक्षाकोठामा अंग्रेजी भाषा पठनपाठन गर्दा कठिन लाग्यो । किनभने सरकारी स्कुलमा पढ्ने विद्यार्थीमा अंग्रेजीको खासै ध्यान थिएन । त्यो बेला मैले अंग्रेजीमै पढाएँ तर त्यसको अर्थ विद्यार्थीले बुझ्नै पाएनन् । त्यसपछि भने मैले विद्यार्थीलाई  कत्ति हदसम्म सरलीकृत ढंगले बुझाउन सकिन्छ भनेर सोचेँ । अनि उसले कति सम्मको सरल भाषा प्रयोग गर्दा चाहिँ बुझ्छ ? भन्ने हिसाबले लेवल पहिचान गरेँ । त्यो काम गर्न मलाई केही समय लाग्यो । त्यो पहिचानपछि मलाई कक्षा लिन सहज भयो ।

त्यसपछि मैैले एक कक्षाको विद्यार्थी दश कक्षामा आइपुग्दा सम्म उसको लेवल कति हुने रहेछ भन्ने पहिचान गरेँ र कसरी अंग्रेजी पढाउन सकिन्छ भन्ने विषयमा योजना बनाएर काम गरेँ । त्यसका लागि मैले प्राथमिक तहकै विद्यार्थीहरुको जग बनाउनका लागि स्कुलसँग प्रस्ताव राखेँ र सोही अनसार स्तर उकास्ने काममा लागिरहेँ ।

खासगरी विद्यार्थीमा शब्दभण्डार (भोकाबुलरी), ग्रामर, लिसनिङ र स्पिकिङको समस्या हुने रेहछ ।  यसकारणले गर्दा हामी शिक्षकले भनेको कुरामा विद्यार्थी अलमलिने गर्दा रहेछन् ।  पढाउने क्रममा विद्यार्थी सुन्न त सुन्छ तर त्यो सुनेको शब्दमा ऊ अभ्यस्त नुहँदा के भनेको, के पढाएको भन्ने मानसिकतामै विद्यार्थी रुमल्लिँदा रहेछन् । यसको मुख्य कारण भोकाबुलरी नै हो । अर्को, ऊसँग ग्रामरको बेश पनि हुँदैन, अर्को बारम्बार सुन्ने अवसरै हुन्न । एक दिनमा उसले जम्मा ४५ मिनेट अंग्रेजीमा सुन्ने अवसर पाउँछ । अझ त्यसमा पनि होमवर्क चेकिङले समय खान्छ । त्यसमा पनि पूरै सुन्न पाउँदैन । २४ घण्टामा २४÷२५ मिनेट अंग्रेजी भाषा सुनेर कसरी अंग्रेजीमा सुधार गर्न सक्छ ? यसैले सामुदायिक विद्यालयको अंग्रेजी सुधार गर्नका लागि अंग्रेजी वातावरण हुनु जरुरी छ । अंग्रेजी सुधार्ने हो भने विद्यालयमा पच्चिस मिनेट मात्र अंग्रेजीलाई छुट्याएर हुन्न । अझ कतिपय सरकारी स्कुलमा अंग्रेजी समेत नेपाली भाषाबाट पठनपाठन गराइन्थ्यो । त्यस्तो तरिकाले कहाँ अंग्रेजीमा सुधार आउन सक्छ र ?

विद्यार्थी स्पिकिङमा पनि हिच्किच्याउने गर्छन्, आफूले बोलेको कुरा नमिलेर साथी पो हाँस्छ कि ? सरले पो गाली गर्नुहुन्छ कि भनेर बोल्ने साहस नै गर्दैनन् । यस्तो बेला उसलाई इन्करेज गर्नुपर्यो, गल्तीले सिकाउँछ भन्ने कुरा शिक्षकहरुले प्रत्याभूति दिन सक्नुपर्छ, त्यसपछि मात्र उसले प्रगति गर्न सक्छ ।

झन् विकराल छ ताप्लेजुङको स्थिति

ताप्लेजुङका विद्यार्थी बिहानै उठेर स्कुलको सट्टा काममा जान्छन् । कामबाट ९ बजेतिर घरमा आउँछन् र हतारहतार खाना खाएर स्कुल जान्छन्, उसले होमवर्क पनि गर्न भ्याउँदैन । काठमाडौं र शहरका विद्यार्थी बिहानै उठेर ट्युशन जान्छन् वा कोठामा बसेर होमवर्क गर्छन् । अभिभावकको सहयोग पाउँछन् तर ताप्लेजुङमा शहरको जस्तो शैक्षिक वातावरण छैन। यहाँका अभिभावकहरुमा चेतनाको अभाव छ । त्यसलाई नसुधारीकन सिकाइको वातावरण बन्दैन । यहाँ सबै परिवारका सदस्य शिक्षित छैन । शिक्षित भएर पनि ग्रामीण परिवेशले गर्दा बालबालिकाहरु काम गर्न बाध्य छ ।

अरुको घरमा/ खेतमा काम जाने, सघाउने र भ्याएमा मात्र विद्यालय पुग्ने चलन यहाँका निम्न वर्गीय समुदायमा विद्यमान छ । यस्तो वातावरणमा अंग्रेजी विषय पढ्न र पढाउन झनै मुश्किल छ । तर, ताप्लेजुुङमा जन्मजातै नसक्ने बच्चा जन्मेका भने होइनन्, उनीहरुमा पनि उस्तै क्षमता छ, तर शैक्षिक वातावरण नमिल्दा काठमाडौं तथा शहरका विद्यार्थी र अन्य ठाउँका विद्यार्थीको सिकाइको लेवलमा ठूलो ‘ग्याप’ छ । यस्तो अवस्थाबाट गुज्रिरहेका बालबालिकाहरु र अभिभावकहरुमा अझ पढेर के गर्न सकिन्छ र ? भन्ने नकारात्मक कुराले जरा गाडेको छ । उनीहरुमा विदेश गएर कमाउने सोच पछिल्लो क्रममा नराम्ररी झांगिएको छ । यसैले अहिले अझ चुनौति थपिएको जस्तो लाग्छ । तर, हामी शिक्षकहरु भने त्यस्तो सोच भएका बच्चालाई पढाइले मात्र जीवनलाई सुखमय बनाउँछ भनेर विद्यार्थी र उनीहरुका अभिभावकलाई अभिमुखीकरण गरिरहेका छौं ।

प्राइमरी तहदेखि नै अंग्रेजी वातावरण बनाउनै पर्छ । अधिकांश सरकारी विद्यालयहरुमा शिक्षकहरुले नेपाली माध्यमबाट अंगे्रजी शिक्षण गर्न बाध्य छन् । यसो गर्नुमा शिक्षकहरु विद्यार्थीलाई दोष लगाउँछन् तर मलाई त्यस्तो लाग्दैन । किन भने विद्यार्थीले बुझ्दैनन् त्यसो भएकोले नेपालीबाटै भन्नुपर्छ, अंग्रेजीमा बुझ्दैनन भनेर शिक्षकहरु भन्छन् । विद्यार्थी बुझ्छन, हामीले वातावरण बनाइदियौं भने विद्यार्थी बुझ्छन् । हामी आफैले विद्यार्थीले जान्दैन भन्ने सोच राख्यौं भने उसले जीन्दगीभर कहिल्यै जान्दैन । उसले जान्दछ भन्ने सोचले उसको लेवल पहिचान गरे पठनपाठन गरे सुधार आउँछ । यसमा विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी सबै पक्ष लाग्नुपर्छ ।

मेरो अनुभवले हेडसरहरुको कारणले गर्दा धेरै स्कुलहरुको स्तर उच्च विन्दुमा पुगेको छ । हेडमास्ष्टर विद्यालयको शैक्षिक नेता हो, उसको जिम्मेवारी अत्यन्तै ठूलो हुन्छ ।  हेडसरहरु नमूना हुनुपर्छ । तर, हामीकहाँ परिस्थिति बेग्लै छ, धेरैजसो हेडसरहरु विद्यालयप्रति गैरजिम्मेवार छन् । मैले रेकर्ड राखेको छु, केही हेडसरहरु महिनामा २३ दिन विद्यालयमा जाँदैन, २३ दिन उसको हाजिरी कापी खाली हुन्छ, पछि आएर त्यसमा काज भन्ने जनाइन्छ । ऊ कहाँ जान्छ ? थाहा छैन । ऊ कार्यालय गएँ भन्छ, कार्यालयमा २३/२३ दिनको काम त हुन्न । तलब निकासाका लागि २३ दिन लाग्दैन, कुनै फारमहरु बुझाउन २३ दिन त लाग्दैन । बढीमा लागे हप्ता दिन लाग्ला । यसले हेडमास्टरहरु विद्यालयप्रति अत्यन्तै गैरजिम्मेवार रुपले प्रस्तुत हुने, अनियमित हुने गर्छन्, त्यसले विद्यार्थीप्रति अन्याय भइरहेको छ ।

त्यतिमात्र होइन, विद्यालयको आर्थिक हिसावकिताव पनि राख्दैनन् हेडसरहरु । विद्यालयमा आय पनि व्यय पनि छैन । यसको मुख्य कारण अभिभावकहरु नै हुन् । किनकी गाउँका सबै अभिभावक जान्ने हुँदैनन् ।  कतिपय अभिभावकलाई विद्यालय जानु हुन्छ कि हुन्न समेत थाहा छैन । विद्यालय जान पनि डराउँछन् र  कतिपयमा त्यहाँ जानुपर्छ भन्ने चेतना छैन । त्यसैको फाइदा हेडमाष्टरहरुले लिइरहेका छन्, त्यसले मनोमानी चलाइरहेका छन् ।
ताप्लेजुङको थुमेदिनमा रहेको शारदा उमाविका अंग्रेजी शिक्षक अधिकारीसँग भक्तपुर र ताप्लेजुङका विद्यार्थीलाई पढाएको अनुभव छ । सोही विषयमा हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित विचार ।

एडु खवरवाट साभार गरिएकाे हाे ।



Leave a comment

Your email address will not be published.


*