पिएर स्कुल आएपछि शिक्षकको श्रेणी वर्गीकरण

पिएर स्कुल आएपछि शिक्षकको श्रेणी वर्गीकरण

– हरिसुन्दर छुकां– काठमाडौं । कार्यक्रम अधिकृतबाट बढुवा भएर जाजरकोट जिल्लामा शिक्षा अधिकारी भएपछि ललितविक्रम सिंहलाई निद्रा लागेन ।

निद्रा नलाग्नुको कारण जिशिअमा बढुवा भएर भन्दा पनि आफू गएको जिल्ला जाजरकोटको शैक्षिक अवस्था र शिक्षकहरुको ‘बानी, शैली र प्रवृत्ति’ मुख्य कारण भएको उनको अनुभव छ ।

‘जिशिअ भएर जाजरकोट पुगेपछि अनुगमनका क्रममा दुई÷तीनवटा विद्यालयमा पुग्दा शिक्षकहरु नै मदिरापान गरेर आउने गरेको पाएँ ।’ उनले सम्झे, ‘त्यसपछि के गर्ने होला, त्यस्ता शिक्षकहरुलाई कसरी ‘तह’ लगाउने होला ? भन्ने कुराले पिरोल्न थाल्यो ।’

हुन त शिक्षा मन्त्रालयले शिक्षकहरुलाई आफ्नो पेशाप्रति अझ जिम्मेवार,  जागरुक र समुदायस्तरमै नमूना व्यक्तिको दर्ज दिने उद्देश्यले शिक्षक आचारसंहिता बनाउन लगाउने र त्यसको कार्यान्वयन गराउने अभ्यास नगरेको होइन तर जाजरकोटमा भने त्यस्ता आचारसंहिताको मतलबै नगरी समाजका अगुवा र प्रवुद्ध व्यक्तिहरुकै व्यवहार त्यस्तो पाइएपछि त्यो विकृति निमिट्यान्न पार्नका लागि जिशिअ सिंहलाई ‘निद्रा लागेन’ ।

विगत लामो समयदेखि त्यसरी नै चलिआएको विषयका कारण ‘निद्रा नलागे’ पछि उनले के गरे त ? त्यसपछि उनले अरु केही गरेनन्, जिल्लामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र पेशागत संघसंस्थाका पदाधिकारीहरुसँग बैठक बसे । बैठकमा ‘पढाउन जाने शिक्षक नै टिल्ल मदिरापान गरेर विद्यालय र कक्षाकोठामा जाने शिक्षक’ बारेमा व्यापक छलफल भयो । त्यही छलफलले निश्कर्ष निकाल्यो – शिक्षकको वर्गीकरण गर्ने ।
त्यसपछि समग्रमा सामुदायिक विद्यालय सुधारका लागि शिक्षकलाई सुधार्नुको विकल्प नभएको निश्कर्ष निकाल्दै जिल्लाभरका शिक्षकको वर्गीकरण गरिएको स्रोतव्यक्ति योगेन्द्र आरसीले जानकारी दिए ।

उनले विद्यालयमा शिक्षकहरुले गरिरहेको कार्यसम्पादनका आधारमा शिक्षकलाई तीन तहमा वर्गीकरण गरिएको जनाउँदै वर्गीकरणपश्चात् शिक्षकहरुलाई जिम्मेवार बोध गराउन सहज भएको बताए ।

‘शिक्षकहरुको वर्गीकरण हुन थालेपछि उनीहरु सजग र सतर्क हुन थालेका छन्’, स्रोतव्यक्ति आरसीले भने, ‘शिक्षक वर्गीकरणका लागि केही आधारहरु तयार गरिएपछि केही सुधार देखिन थालेका छन् ।’

शिक्षा कार्यालय, स्रोतव्यक्ति, विद्यालयका प्रअहरु तथा शिक्षाका सरोकारवालाहरुले शिक्षक वर्गीकरणका लािग मुख्य आधारका रुपमा शिक्षकको विद्यालयमा हाजिरी, सिकाइ उपलब्धि, कोर्स सकिएको र नसकिएको वुंदाहरु निर्धारण गरिएको छ । जसअनुसार शिक्षकहरुलाई ‘क’, ‘ख’  र ‘ग’ श्रेणीमा वर्गीकृत गरिएको छ ।

समूहअन्तर्गत ९० प्रतिशत हाजिरी पुग्नुपर्ने, कोर्ष पूरा गर्नुपर्ने, सिकाइ उपलब्धि ७० प्रतिशतभन्दा माथि पु¥याउनुपर्ने, मदिरापान नगर्ने हुनुपर्ने र स्कुलमा अनुपस्थित हुँदा पूर्व जानकारी दिने स्वभावका शिक्षकलाई ‘क’ श्रेणीको शिक्षकमा राखिएको छ भने ‘ख’ श्रेणीका शिक्षकमा पर्नका लागि ८० प्रतिशत हाजिरी पु¥याउनुपर्ने, सिकाइ उपलब्धि ६० प्रतिशत माथि हुनुपर्ने, ९५ प्रतिशत कोर्स सकाउनुपर्ने र स्कुलमा मदिरापान गरी आउन नहुने आधार तय गरिएको छ ।

त्यस्तै कार्यालयले ७० प्रतिशतभन्दा कम हाजिरी भएको, ८० प्रतिशतभन्दा कम मात्र कोर्स सकाउने तथा ४० प्रतिशत भन्दा कममात्र सिकाइ उपलब्धि भएको शिक्षक र विद्यालय आउँदा पनि मद्यपान गरेर आउने शिक्षकलाई भने ग श्रेणीमा राखिएको छ ।

यो वर्गीकरणपछि शिक्षकहरुमा एक प्रकारको सँजाय जस्तै हुन पुग्यो, जसकारण अहिले धेरै शिक्षकरु समयमै विद्यालय पुग्ने, समयसम्म बस्ने र आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने स्वभावका हुन थालेको शिक्षा कार्यालयका अन्य अधिकारीहरुको भनाइ छ ।

जिशिअ सिंहले शिक्षकहरुले गरेका क्रियाकलाप र शिक्षण सिकाइ क्रियाकलापका लागि उनीहरुले खर्च गरेको समय, नतिजा र उपस्थितिलगायतका आधारमा जाजरकोटका शिक्षकहरुको श्रेणी निर्धारण गरिएको जानकारी दिँदै जाजरकोटमा ‘ख’ वर्गमा पर्ने शिक्षकहरुको संख्या उल्लेख्य रहेको बताए ।

‘जागरकोट जिल्लामा कूल १ हजार ३ सय ७६ जना शिक्षकहरु कार्यरत छन् । ती शिक्षकहरुमध्ये ‘क’ वर्गका करिब एकसय जना, ‘ख’ वर्गमा ९ सयभन्दा बढी र ‘ग’ डेढसयको हाराहारीमा देखिएका छन् ।’ उनले भने ।
उनले जिल्लाका शिक्षकहरुलाई तीन वर्गमा विभाजन गरेर  प्रत्येक शिक्षक कहाँ जान्छ?, कतिबेला आउँछ र जान्छ, के गर्छ ?भन्ने विषयको सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै शिक्षाको सुधारका लागि पहिला शिक्षकहरुलाई सुधार गर्ने प्रयास स्वरुप कार्यालयले काम गरिरहेको बताए ।

साभार ः एडुखवर

प्रतिक्रिया