साँघुरो सडकमा जथाभावी पार्किङले सास्ती

साँघुरो सडकमा जथाभावी पार्किङले सास्ती

दैलेख, भदौ १५ । अव्यवस्थित बजार, साँघुरो सडक, दोहोरो चल्ने यातायातका साधन र जथाभावी सवारी साधनको पार्किङ । यो दिक्क लाग्दो दृष्य हो दैलेख सदरमुकाम दैलेख बजारको । अँझ बजार क्षेत्रमा रहेका दुई वटा माध्यमिक विद्यालयका कारण बिहान १० बजे र अपराह्न ५ बजे बजारमा मानिसको आवतजावत बढेका बेला बजारमा सवारी साधनको दिक्क लाग्दो जाम लाग्ने गर्छ ।


दैलेखबजारको गणेशचोकदेखि देवकोटा चोकसम्म र पुरानो बजारको लोकतान्त्रिक चोकदेखि भगवती टोलसम्म यातायातका साधन पास गराउन हम्मे हम्मे हुने गरेको छ । बजार क्षेत्रभन्दा बाहिर वाईपासबाट ठूला यातायातका साधन सञ्चालन गरिएको भए पनि वर्षाका कारण वाईपासको सडक विग्रेकाले बजार क्षेत्रमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई छविलाल ढकालले बताए । उनले नगरपालिकाले बजार पछाडीको सडक मर्मत नगरेकाले गाडीलाई बजार क्षेत्रमा प्रवेश गर्न दिनु बाध्यता भएको बताए । दैलेख बजारमा मुस्किलले एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने सडक छ । यस्तो सडकमा दोहोरो यातायात सञ्चालनले ट्राफिक जाम हुने गरेको छ । बीच बजारमा गाडी रोकेर यात्रु भर्ने गरेकाले पनि समस्या भएको सई ढकालको भनाई छ । विकल्प नभएकाले बजारमा रहेको जथाभावी पार्किङ हटाउनसमेत नसकिएको उनले बताए । सवारी साधानको चाप बढे पनि बजार क्षेत्रको सडक विस्तार गर्नेतर्फ सरोकारवाल निकायको ध्यान नगएको स्थानीयको गुनासो छ ।
सवारी साधन जिल्ला भित्रिएको दुई दशक हुँदा पनि वस पार्कको टुंगो नलाग्दा पनि सवारी साधनले मनलाग्दो गरिरहेको स्थानीयको भनाई छ । पुरानो बजारको छेउमा र काँडाचौरमा वस पार्क बनाइए पनि दुवै स्थान अपाएक भएकाले खासै प्रयोगमा आएका छैनन्् । स्थानीयको विवादक कारण दुई स्थानमा वस पार्क बनाइएका थिए । तर दुबे वस पार्क प्रयोग नहुँदा सेवाग्राही मर्कामा परेका छन् । वस र्पाक सञ्चालमा नआउन र बजार क्षेत्रमा ठूला साधन निशेध गर्न नसक्नुका कारण ट्राफिक जाम हुने गरेको सई ढकालको भनाई छ । उनले नगरपालिकाले उचित कदम नचालेसम्म ट्र्राफिक जामको समस्या समधान गर्न नसकिने बताए ।

प्रतिक्रिया