एमालेले कूटनीतिक अज्ञानता देखायोः उपप्रधानमन्त्री निधि

एमालेले कूटनीतिक अज्ञानता देखायोः उपप्रधानमन्त्री निधि

काठमाडौं, भदौ  १६   । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

कूटनीतिमा दुई देशबीच आदान प्रदान हुने पत्र सार्वजनिक गर्ने चलन नहुने नरहेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई आफूले बुझाएको पत्र सार्वजनिक गर्नु पर्ने माग राखेर एमालेले कुटनीतिक अज्ञानता प्रदर्शन गरेको बताए ।

प्रजातान्त्रिक विचार समाजले विहिवार काठमाडौमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत गएको र भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।

मोदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएको भन्दै उनले पटक पटक सरकार संचालन गरेको एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत भ्रमणमा गएका थिए ।

प्रमुख विपक्षी दल एमालेले स्थायी समितिको बैठकबाट निर्णय गरी निधिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्र सार्वजनिक गर्न माग गरेको थियो । पत्रकै विषयलाई लिएर दुई दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेस र एमालेका नेताबीच चर्काचर्की समेत भएको थियो ।

प्रतिक्रिया