प्रचण्डको भ्रमणअघि प्रस्तावित राजदूत उपाध्यायको सुनुवाइ नहुने

प्रचण्डको भ्रमणअघि प्रस्तावित राजदूत उपाध्यायको सुनुवाइ नहुने

२१ भदौ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर भारत र  चीनका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आहृवान गरेको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि भारतमा नेपाली राजदूत नियुक्त नहुने पक्का भएको छ ।
प्रधानमन्त्री प्रचण्ड ३१ गते भारत जाँदैछन् । तर, त्यतिबेलासम्ममा प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको सुनुवाइ नै सुरु भएको हुनेछैन । सुनुवाइ समितिका एक सदस्य भन्छन्, कार्यविधिमै उजुरीका लागि १० दिन दिने भनिएको छ । त्यस आधारमा नै प्रक्रिया अघि बढाइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण अघि भारतमा राजदूत नियुक्त सम्भव छैन ।’

उजुरी आहृवानपछि संसदीय समितिले सुनुवाइ गर्नेछ । र, समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिले नियुक्त गर्नेछन् । यसपछि मात्र एगि्रमोका लागि नाम पठाइनेछ । राजदूत नियुक्ति प्रक्रिया केही लामो हुनेछ ।

सरकारले हालै भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरेको छ ।

उपाध्याय यसअघि पनि भारतकै लागि राजदूत थिए । सरकार गिराउने खेलमा लागेको लगायतका आरोप लगाएर केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो । तर, कांग्रेसको समर्थनमा बनेको प्रचण्ड सरकारले उपाध्यायलाई नै फेरि राजदूत सिफारिस गरेको छ ।

तीन सदस्य हेरफेर हुने

संसदीय सुनुवाइ समितिका तीन सदस्य प्रचण्ड सरकारमा मन्त्री बनेका छन् । बालकृष्ण खाँड रक्षामन्त्री, प्रकाशशरण महत परराष्ट्र र हितराज पाण्डे स्थानीय विकासमन्त्री बनेका छन् ।

मंगलबारको बैठकमा तीनै सदस्य उपस्थित थिए । तर, उनीहरुले अब आफूहरु समितिको सदस्य नरहने भन्दै नयाँ सदस्य आउने जानकारी गराएका छन् ।

प्रतिक्रिया