स्थानीय निकाय पुनःसंरचनाबारे काँग्रेस भित्रै विवाद

स्थानीय निकाय पुनःसंरचनाबारे काँग्रेस भित्रै विवाद

दैलेख, भदौ २१ । स्थानीय निकाय पुनःसंचरनामाबारे जिल्लामा सर्वदलीय सहमति नजुटिरहेका बेला नेपाली काँग्रेस भित्रै विवाद भएको छ । नेपाली काँग्रेस दैलेखमा स्थानीय निकायबारे तीन थरीका धारणा सार्वजनिक भएपछि आन्तरिक विवाद छताछुल्ल भएको हो ।


क्षेत्र नम्बर २ का नेताहरु जिल्लास्थित प्राविधिक समितिले तयार पारेको खाकामा सहत छन् भने क्षेत्र नम्बर १ ले बैठकबाट छुट्टै प्रस्ताव गरेको छ । यस्तै पूर्वपार्टी सभापति तथा महासमिति सदस्य गणेशबहादुर खड्काले फरक प्रस्ताव पेश गरेका छन् । एउटै पार्टीले तीन थरी खाका प्रस्तुत गरेपछि स्थानीय निकाय पुनःसंरचनाबारे कांग्रेस भित्रै विवाद रहेको पुष्टि भएको हो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ कार्य समितिको सोमबार बसेको बैठकले इलाकाअनुसार एक नगरपालिका र ५ वटा गाउँ पालिका हुनुपर्ने खाका प्रस्ताव गर्ने निर्णय गरेको थियो । क्षेत्रीय सभापति गणेशप्रसद उपाध्यायले संघीयताको मर्मअनुसार जनतालाई सहज सेवा दिनका लागि हालको इलाकाअनुसार नै स्थानीय निकाय पुनःसंरचना हुनुपर्ने बैठकले निर्णय गरेको जानकारी दिए । हाल क्षेत्र नम्बर एकमा ६ वटा इलाका रहेका छन् ।
मंगलबार पूर्वसांसद तथा पार्टी महासमिति सदस्य खड्काले क्षेत्र नम्बर १ मा १ नगरपालिका र ११ गाउँपालिका तथा क्षेत्र नम्बर २ मा १ नगरपालिका र ६ गाउँपालिकाको खाका प्रस्तुत गरेका छन् ।

पार्टीका विभिन्न तहबाट खाका प्रस्तुत भए पनि जिल्ला कार्य समितिले भने हालसम्म कुनै खाका बनाएको छैन । पार्टी सभापति कृष्णकुमार विसीले जिल्लास्थित प्राविधिक समितिले तयार पारेको ८ वटा स्थानीय निकायको खाकामा आफ्नो असहमति रहेको बताए । उनले जिल्लामा १२ देखि १८ वटासम्म स्थानीय निकाय बनाए सहज हुने बताए । क्षेत्र नम्बर २ का सभापति घनश्याम भण्डारीले पार्टीको केन्द्रीय नीतिअनुसार इलाकालाई स्थानीय निकाय बनाउने अवस्था नआए प्राविधिक समितिको खाकामा सामान्य हेरफेर गरे सहमति हुने बताए । क्षेत्र नम्बर २ ले अन्तिम धारणा बनाउन भने बाँकी छ । हालै काँग्रेस जिल्ला कार्य समितिको बैठकले दुवै क्षेत्रका सभापतिलाई खाका प्रस्तुत गर्न जिम्मा दिएको थियो ।

प्रतिक्रिया