देउवाले पौडल पक्षलाई पदाधिकारीमा मनोनयन नगर्ने !

देउवाले पौडल पक्षलाई पदाधिकारीमा मनोनयन नगर्ने !

२२ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयन, विभागहरु गठन तथा संविधान संशोधनमा पार्टीको धारणा बनाउने लगायतका विषयमा रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

बिधानतः सभापति निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने भए पनि देउवाले अझै त्यसको टुंगो लगाउन सकेका छैनन् । आफ्नै गुटभित्र मिलाउन समस्या परेका बेला पौडेलले समेत भाग खोजेपछि देउवा अप्ठेरोमा परेका छन् ।

देउवाले विधानअनुसार एक उपसभापति, महामन्त्री र एक सहमहामन्त्री मनोनयन गर्न पाउँछन् । तर, ती नाम केन्द्रीय कार्य समितिमा निर्वाचित सदस्यहरुको बहुमतले अनुमोदन गर्नुपर्छ ।

स्रोतका अनुसार पदाधिकारी मनोनयनमा देउवाले पौडेल पक्षलाई भाग दिने सम्भावना छैन । पौडेलले भने तीनमध्ये एक आफ्नो भाग मागेका छन् ।

देउवाले पौडेल पक्षलाई एक पदाधिकारी दिएको खण्डमा पौडेल पक्षका पदाधिकारी बहुमत हुन्छन् । सभापतिलाई काम गर्न सुविधाजनक बहुमत सबै निकायमा चाहिने भन्दै देउवाले पदाधिकारीमा दावी गर्न पौडेललाई आग्रह गरेको एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसका निर्वाचित तीन पदाधिकारीमध्ये सभापति देउवा बाहेक महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पौडेल पक्षका हुन् । बरिष्ठ नेता पनि पदाधिकारीसरह हुने भएकाले पौडेलसमेत गर्दा अहिले पदाधिकारीमा पौडेल पक्ष बहुमतमा छ ।

अब तीन पदाधिकारी मनोनित गर्दा तीनैजना देउवा पक्षका भएमात्र पदाधिकारीमा देउवालाई बहुमत हुनेछ । त्यही कारण देखाउँदै देउवाले पदाधिकारी मनोनयनमा पौडेल पक्षलाई भाग नखोज्न आग्रह गरेका हुन् ।

पौडेलनिकट केन्द्रीय सदस्य कल्याण गुरुङले भने पार्टीमा सम्मानजक सहमतिको लागि एक पदाधिकारी बरिष्ठ नेता पौडेलसँग परामर्श गरेरमात्र सभापतिले मनोनित गर्नुपर्ने माग राखिएको बताए ।

देउवाले भने विभाग र कार्य सम्पादन समिति गठनमा पौडेल पक्षलाई सम्मानजनक सहभागिता गराउने आश्वासन दिँदै पदाधिकारीमा भाग नदिने प्रष्ट संकेत दिएका छन् ।;

पदाधिकारीमध्ये उपसभापतिमा विमलेन्द्र निधी र खुमबहादुर खड्काको प्रमुख दाबेदारी छ । गोपालमान श्रेष्ठले उपसभापति दाबी गरे पनि उनलाई संसदीय दलको उपनेता बनाउने आश्वासन देउवाले दिएका छन् ।

केन्द्रीय कार्य समितिमा ६ जना सदस्य लिएर बसेका खड्काले उपसभापति नपाए देउवाको साथ छाड्ने बताइसकेका छन् । खड्काको साथ भएन भने पदाधिकारी मनोनयनमा देउवाको बहुमत केन्द्रीय समितिमा पुग्दैन ।

महामन्त्रीमा देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनयन गर्ने आश्वासन दिएर बालकृष्ण खाँडलाई मन्त्री बनाएका हुन् । पूर्णबहादुर खड्का पनि महामन्त्रीका प्रमुख दाबेदार हुन् । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा मनोनित हुने सम्भावना छ ।

यता पौडेल पक्षले एक पदाधिकारी पाउने अवस्था आएमा आधा दर्जन आकांक्षी छन् । डा.रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू पदाधिकारीका मुख्य आकांक्षी हुन् ।

डा.शेखर कोइराला पनि पदाधिकारीका दाबेदार हुन् । संसदीय चुनावमा टिकट दिने लगायत महत्वपूर्ण निर्णय गर्ने निकाय भएकाले पदाधिकारी बन्न प्रभावशाली नेताहरुले जोडबल गरेका छन् ।

यीनै आकांक्षीहरुमध्येबाटै कार्य सम्पादन समिति गठन हुनेछ । केन्द्रीय कार्य समिति बैठक नबसेका बेला कार्य सम्पादन समिति क्रियाशील हुन्छ भने संसदीय समिति अलग्गै हुनेछ । surce : onlinekhabar.com

 

प्रतिक्रिया