असोजभित्र स्थानीय तहको टुंगो लगाउँछौं: प्रधानमन्त्री

असोजभित्र स्थानीय तहको टुंगो लगाउँछौं: प्रधानमन्त्री

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजजीतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् ।

प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

प्रमुख दलहरुबीच बुधबारमात्र स्थानीय तहबारे तीन दिनभित्र सहमति खोज्ने समझदारी भएको थियो ।

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले ५६५ स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । तर, यसबारे प्रमुख दलहरुबीच साझा धारणा बन्न सकेको छैन ।

साथै चुनावका लागि वातावरण बनाउन सबै दललाई आहृवान गरे । उनले भने, राजनीतिक लाभ-हानी नहेरी चुनावको वातावरण बनाउन म सबैलाई आहृवान गर्छु ।’

आफू निर्वाचन आयोगसँग निरन्तर सम्वादमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्न आफ्नो नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले वार्ताका नाममा धेरै समय खेर फाल्ने सहुलियत अब नभएको बताए । साथै उनले अब सहमति खोज्न ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया