संविधान संसोधन प्रस्तावमाथि आँखा चिम्लेर सहिछाप गर्दैनौंः कमल थापा

संविधान संसोधन प्रस्तावमाथि आँखा चिम्लेर सहिछाप गर्दैनौंः कमल थापा



शेरबहादुर थापा, सुर्खेत, २५ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०७४ सालको माघ महिना सम्म (तिनै तह) स्थानीय, राज्य र संसदको निर्वाचन गर्न नसकेमा मुलुक गम्भिर दुर्घटनामा पर्ने बताएका छन् । दैलेखमा प्रदेश नम्बर ६ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा शनिबार विहान सुर्खेतको वीरेन्द्रनगरमा मिडिया नेपालद्वारा आयोजीत पत्रकार सम्मेलनमा उनले संविधानले व्यवस्था गरेअनुरुप २०७४ माघसम्म स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् । surkhet kamal thapa
उनले संविधान जारी भएको आगामी दुइ वर्षभित्र सबैतहका चुनाव गरिसक्नुपर्ने संवैधानीक व्यवस्था भएता पनि सो अवधीमा तिनओटा सरकार बन्नु देशकैलागि घातक बन्नसक्ने आशंका समेत व्यक्त गरे । राप्रपा र राप्रपा नेपालको एकता प्रक्रियाका बारेमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष थापाले तत्कालका लागि राप्रपासँगको एकता प्रक्रियामा पुर्णविराम लागेको बताए । दुई पार्टीबीच एकता गर्न खोजेपनि राप्रपा सत्तामोहमा लागेका कारण एकता हुन नसकेको बताउदै उनले अब एकता गर्ने हो भने राप्रपाले नै तयारी गर्नुपर्ने बताए ।



जनताले चाहे राजतन्त्र पुर्नस्थापना हुने
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनताले चाहेभने राजतन्त्र पुर्नस्थापना हुने दाबी गरे । उनले आफूहरुले देशलाई दुर्घटनामा पारेर राजतन्त्र पुर्नस्थापना गर्ने नभइ लोकतान्त्रीक विधि, प्रक्रिया र जनताको साथ लिएर यो अभियानमा लागेको समेत बताए । एक फरक प्रसंगमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने समेत माग गरे । करिब ९० प्रतिशत जनताले संविधान निर्माणताका हिन्दुराष्ट्रका पक्षमा आफ्नो मत जाहेर गरेको स्मरण गर्दै ठुला दलहरुलाई संविधान संशोधन गरेर भएपनि हिन्दुराष्ट्र कायम गर्न ठोस भूमिका खेल्न आग्रह गरे ।

चुनावको तयारी सुरु
राप्रपा नेपालले अहिलेदेखि नै स्थानीय तहको चुनावको तयारी सुरु गरेको थापाले जानकारी दिए । उनले आगामी चुनावमा गठबन्धन निर्माण गरेर चुनावमा जाने समेत बताए तर गठबन्धनका निर्माणका बारेमा भने उनले केहि खुलाएनन् ।

सरकारले चुनाव गर्ने भन्नेमा आशंका बढयो
पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले वर्तमान सरकारले आगामी चैतमा स्थानीय निकायको चुनाव गर्ने भनेर सस्तो नारा मात्रै लगाइरहेको भन्दै उनिहरुले चुनाव गराउनेमै गम्भिर आशंका रहेको जनाए । उनले आफू सहभागी सरकारले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गरिसकेको स्मरण गराउदै उनले चुनावको मिति तोक्न समेत सरकारलाई सुझाव दिए ।

सरकार परिवर्तन जनताको चाहनामाथि तुषारापात
संविधान जारी भएको एक वर्षको अन्तरालमा नै सरकार परिवर्ततनको खेलमा राजनैतिक दलहरु लाग्नु दुर्भाग्यपुर्ण भएको भन्दै अध्यक्ष थापाले नयाँ संविधान प्राप्ती पश्चात देशमा विकास र स्थायीत्व कायम भएको हेर्न चाहने जनताको चाहनामाथि तुषारापात गरिएको बताए । उनले संविधान संसोधन गर्न पनि वर्तमान सरकारलाई दुइ तिहाई मतको आवश्यकता पर्ने भएपनि संविधान संसोधनका बारेमा आफूहरुसँग वर्तमान सरकारले कुनै पहल नगरेको समेत जानकारी दिए । उनले आफूहरुले सरकारले ल्याउने संशोधन प्रस्तावमाथी आँखा चिम्लेर सहिछाप नगर्ने बताउदै राष्ट्र र जनताका पक्षमा आफूहरु सदैव लागिरहने समेत प्रतिबद्वता व्यक्त गरे ।

प्रतिक्रिया