८ वा ११ स्थानीय तह रहने खाका सिफारिस

८ वा ११ स्थानीय तह रहने खाका सिफारिस



दैलेख, भदौ २६ । स्थानीय तह पुनः संरचना जिल्ला प्राविधिक समितिले दैलेखमा ८ वा ११ स्थानीय ईकाई बनाउन नगरपालिका, गाउँपालिका तथा संरक्षित क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगलाई सिफारिस गरेको छ । ८ वटा ईकाईअनुसार ५ नगरपालिका २ गाउँपालिका र १ संरक्षित गाउँपालिका रहेका छन् । जिल्ला प्राविधिक समिति दैलेख पुनःरंचनाको खाका आइतबार सार्वजनिक गरेको हो ।

dailekh-map-1खाका सार्वजनिक गर्दै समितिका संयोजक तथा स्थानीय विकास अधिकारी हरी प्याकुरेलले दलहरुबीच भएको सहमतिअनुसार प्राविधिक समितिले खाका बनाएको जानकारी दिए । उनले आयोगको निर्देशिकाअनुसार ८ वटा स्थानीय ईकाई बनाउनुपर्ने वाध्यता भए पनि आमजनतालाई सेवासुविधा दिन हालका इलाकालाई नै स्थानीय ईकाई बनाउँदा उपयुक्त हुने जिल्लास्थित राजनीतिक दल तथा नागरिक समाजको सुझावका आधारमा ११ वटा ईलाकालाई स्थानीय ईकाई बनाउन वैकल्पिक खाका बनाउन आयोगलाई सिफारिस गरिएको बताए । हाल दैलेखमा ११ वटा ईलाका रहेका थिए ।



शनिबार भएको सर्वदलीय बैठकमा प्राविधिक समितिले तयार पारेको खाकामा नाम, वडा विभाजन र केन्द्रमा सामान्य शंसोधन गरेर दलहरुले सहमति जनाएका थिए । यस्तै काँग्रेसले पेश गरेको ११ स्थानीय तहको खाका पनि सिफारिस गर्न दलहरु सहमत भएका थिए । शनिबार दलहरुबीच भएको सहमतिअनुसार क्षेत्र नम्बर १ मा साविकको नारायण नगरपालिका र इलाका नम्बर २ का ६ वटा गाविस मिलाएर नारायण नगरपालिका बनाइएको छ । यो नगरपालिकाको केन्द्र दैलेख बजार वा भवानीको छान्ना हुने छ । यस्तै इलाका नम्बर ३ का सबै गाविस मिलाएर नौमुले गाउँपालिका बनाउने र यसको केन्द्र नौमुले बजार वा तोली डाँडा बनाउन समितिले आयोगलाई सिफारिस गरेको छ । यस्तै इलाका नम्बर ४ का सबै गाविस मिलाएर बेस्तडा गाउँपालिका र केन्द्र बेस्तडा वा विक्रमचौर बनाउने तथा इलाका नम्बर ५ र ६ का सबै गाविस तथा बेलपाटा गाविस मिलाएर लालीगुराँस नगरपालिका बनाउन सिफारिस गरिएको संयोजक प्याकुरेलले जानकारी दिए । यो नगरपालिकाको केन्द्र भटुकेनीचौर वा डुंगेश्वर बनाइने छ ।

क्षेत्र नम्बर २ मा दुल्लु नगरपालिकाको केन्द्र दुल्लु, रामघाट नगरपालिकाको केन्द्र शिमलशेरा वा देउराली, आठविस नगरपालिकाको केन्द्र राकमकर्णाली वा शितलचौर तथा ज्वाला मालिका गाउँपालिकाको केन्द्र बैक डाँडा बनाउन समितिले सिफारिस गरेको छ । नाम केन्द्र र गाविस मिलानमा दलहरुबीच सहमति भए पनि वडा विभाजनमा भने सामान्य विवाद हुँदा बीचको बाटो अपनाएर वडा विभाजन गरिएको थियो । हाल २ नगरपालिक र ४९ गाविस रहेको दैलेखमा आयोगले ८ वटामात्र स्थानीय तह बनाउने मापदण्ड तोकेको थियो ।

८ ईकाइको खाका बनाउँदा भौगोलिक रुपमा अपाएक भएको काँशिकाँध गाविसको वडा नम्बर ८ लाई दुल्लु नगरपालिकामा गाभ्दा उपयुक्त हुनेसमेत सुझवा आयोगलाई दिइएको समिति संयोजक प्याकुरेलले जानकारी दिए । सो वडाको भौगोलिक अवस्था नारायण नगरपालिका भन्दा दुल्लु नगरपालिकासँग मिल्ने अवस्था छ ।

प्रतिक्रिया