प्रधामन्त्रीको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्ध नयाँ आयाममा पुग्छ : मन्त्री लेखक

प्रधामन्त्रीको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्ध नयाँ आयाममा पुग्छ : मन्त्री लेखक

काठमाडौं, २७ भदौ । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणसँगै दुईदेशवीचको सम्बन्ध नयाँ आयाममा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने,‘भारतसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ, प्रधानमन्त्रीको भारत भ्रमणसँगै दुईदेशवीचको सम्बन्ध नयाँ उचाईमा पुग्नेमा विश्वस्त छौं ।’
भ्रमण दलका सदस्य समेत रहेका मन्त्री लेखकले भारतसँग मात्रै भएर आफूहरुले दुवै छिमेकी मुलुक भारत र चीनसँग उतिकै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै भने,‘ यो भ्रमणमा दुई देशको हितका बारेमा छलफल हुन्छ ।’


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मित्रराष्ट्र भारतको भ्रमण गर्न लाग्दा विभिन्न आशंका हरु पैदा भएपनि भ्रमणमा मुलुकको र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सम्झौता हुने स्पष्ट पारे । उनले भने,‘केही गलत र खराब काम हुन्छ भनेर आशंका नगर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा विकास निर्माण र आर्थिक मुद्दामा केन्द्रित रहने उनको विश्वास थियो ।
लेखकले हुलाकी राजमार्ग निर्माणको बारेमा विभिन्न चर्चा भैरहेको उल्लेख गर्दै केही सडकहरु भारतको सहयोगमा अघि बढाउने त केही नेपाल आँफैले बनाउने स्पष्ट पारे । उनले सोही बमोजिमक जनकपुर–जलेश्वर–भिठ्ठामोडको निर्माण कार्य सुरु भएको समेत जनाए ।
सडकको अवस्था खराब रहेको तर्फ ध्यानाकार्षण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्ने र गुणस्तरीय कार्य गर्ने तर्फ आफूले सम्बन्धित पक्षलाई निर्देशन दिईसकेको उनको भनाई थियो ।

अहिलेको सरकारको मुख्य जिम्मेवारी भनेको नै संविधान कार्यान्वयन भएकोले सोही बमोजिम कामहरु अघि बढेको उल्लेख गर्दै लेखकले भने,‘संविधान कार्यान्वनयकोलागि आवश्यक सबै कामहरु सरकारले अघि बढाएको छ, संविधानको संशोधनमार्फत असन्तुष्ट पक्षहरुलाई संविधानको सर्वस्विकार्यतामा ल्याउने काम, समयमै तीनवटै निकायको चुनाव सम्पन्न गर्ने लगायतका कामहरु गर्नेगरि हामी अघि बढिरहेका छौं ।’
उनले संविधान संशोधनको लागि दलहरुवीच राम्रो वातावरण बनेको समेत बताए । मोर्चासँग भएको तीन बुँदे कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि राजनीतिक दलहरुवीच राष्ट्रिय सहमति बनाउने चरणमा रहेको समेत मन्त्री लेखकले जनाए ।


सवारी दुर्घटना न्यूनिकरणको लागि आफूले पहलकदमी लिएको उल्लेख गर्दै मन्त्री लेखकले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनका अनुसार भएका नियम, कानूनको पूर्ण पालना गर्नुपर्ने, नयाँ आवश्यक परे जारी गर्ने, सवारी क्षमताभन्दा बढि यात्रु बोक्नेलाई कडा कारवाही गर्ने लगायतका कार्यक्रमहरु अघि बढाईएको छ ।


सवारीलाई सिट क्षमताभन्दा बढि यात्रु बोक्न नदिने हो भने स्वतः सिण्डिकेटको खारेजी हुने समेत विश्वास व्यक्त गरे ।
सडक दुर्घटना न्यूनिकरणको लागि आफूले अघि सारेका कार्यक्रमहरु फगत् चर्चा कमाउनको लागि नभएको जिकिर गर्दै मन्त्री लेखकले भने,‘मैले चर्चा कमाउनको लागि यस्ता कुराहरु गरिरहेको छैन, समस्यालाई गम्भिर भएर हल गर्नुपर्छ भन्ने लागेर नै यस्तो कदम चालेको छु, यसको कार्यान्वयनको लागि सबै सम्बन्धित पक्षले सहयोग गर्नुपर्छ ।’
क्षमताभन्दा बढि यात्रु बोक्नेलाई कारवाही गर्नको लागि आफूले सम्बन्धित पक्षलाई निर्देशन समेत दिएको उनको दाबी थियो । उनले थपे,‘क्षमताभन्दा बढि यात्रु बोक्ने सवारीलाई निगरानी गर्ने काम हामी सबैको हो, त्यसमा पनि सबैभन्दा बढि जिम्मेवारी प्रहरी हो, प्रत्येक १० देखि १५ किलोमिटरमा हाईवेमा प्रहरी चौकी छ, उहाँले सवारी रोकरे हेर्नुपर्दैन, यसो निगरानी गरेपनि भैहाल्छ नि, सञ्चारको सुविधा छ, त्यसैले स्वतः दुर्घटना कम हुन्छ भन्ने हामी सबैको विश्वास हो ।’


उनले दशैं तिहारलाई लक्षित गरेर आफूले अगाडि नै टिकट बुकिङ खुल्ला गर्न निर्देशन दिएको र क्षमताभन्दा बढि यात्रु नबोक्ने भनेको जनाए ।

प्रतिक्रिया