बाल दिवस मनाइयो

बाल दिवस मनाइयो

दैलेख, भदौ २९ । दैलेखलगायत देशभर बुधबार ५२ औं बाल दिवस मनाइएको छ । जिल्ला बालकल्याण समितिको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक), सेभ द चिल्ड्रेन, AEI/TDH को साझेदारीमा दैलेखमा बुधबार बाल दिवस मनाइएको हो ।
दिवसका अवसरमा बुधबार विभिन्न विद्यालयका विद्यार्थी, महिला तथा बालबालिका विकास कार्यालय, नारायण नगरपालिका, जिविस, विभिन्न संघ संस्थाका कर्मचारीले स्थानीय दैलेख बजारमा र्याली गरेका थिए । बजार परिक्रमापछि बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बाल बिबाह न्युनिकरण विषयमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा कालिका उमावि सिंहासैनका नविन न्यौपाने प्रथम भए भने बसन्तामाला उमाविकी मनिशा खड्का दोस्रो, देवी उमावि मालिकाका जगत खत्री तेस्रो र लक्ष्मी मावि सात्तलाका तिर्थराज विक सान्तवना भएका थिए ।20160914_122603

कार्यक्रममा जिल्लास्थित रानीतिक दलका प्रतिनिधि, जिल्ला वाल संगठनका अध्यक्ष जगतजंग थापा, निमित्त स्थानीय विकास अधिकारी शम्शेरबहादुर शाही, सोसेकका महासचिब झलक भण्डारी, प्रमुख जिल्ला अधिकारी तथा वाल कल्याण समितिका अध्यक्ष लुकबहादुर क्षेत्रीलगायतले बाल अधिकारका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।उनीहरुले वाल अधिकारको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउँदै बालबालिकाको वयक्तिक विकासमा सबै अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिएका थिए । बाल बिबाह, बाल श्रम जस्ता विषयमा सचेतना फैलाउनुपर्ने भन्दै उनीहरुले बालबालिकाको पढ्न पाउने अधिकारप्रति सबैको ध्यान जानुपर्ने बताए ।



यस्तै बडाखोलामा पनि वाल दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गरिएको छ । ज्वाला वाल सञ्जालको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक)को आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । दिवसकै अवसर पारेर गाविसको लक्षित वर्ग कार्यक्रमबाट बडाखोलाका विपन्न ३० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।

यस्तै वाँसीमा पनि वालदिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । सुन्दर बालसञ्जालको आयोजना तथा सोसेक र मालिका उमाविको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया