सहयात्रा र वाइइपीको सेवा विस्तार गर्न पहल

सहयात्रा र वाइइपीको सेवा विस्तार गर्न पहल

दैलेख, असोज ९ । सेभ द चिल्ड्रेनको सहयोगमा दैलेखमा सञ्चालित सहयात्रा र वाइपी परियोजनाको सेवा विस्तार गर्न पहल गरिएको छ । जिल्ला विकास समितिमा शुक्रबार बसेको परियोजना सल्हाकार समितिको बैठकले जिल्लाका अति विकट ४ वटा गाविसमा सेवा विस्तारका लागि सेभ द चिल्ड्रेनसँग अनुरोध गर्ने निर्णय गरेको छ ।


हाल सामाजिक सेवा केन्द्र (सोसेक)सँगको साझेदारीमा जिल्लाका १० वटा गाविसमा सहयात्रा परियोजना सञ्चालित छ भने एभ्रेष्ट्र क्लबसँगको साझेदारीमा १० गाविसका ११ वटा विद्यालयमा वाइपी कार्यक्रम सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेनले दैलेखमा सञ्चालन गरेका यी परियोजनाले राम्रो नतिजा दिएको भन्दै समितिले सेवा क्षेत्र विस्तार गर्न अनुरोध गरेको हो ।




सहयात्रा परियोजनाले शिक्षा, बाल संरक्षण र बाल शासनमा काम गर्छ भने युवा शसक्तिकरण परियोजना (वाइपी)ले युवालाई शसक्तिकरणको काम गर्दै आएको छ । यी परियोजनाको सेवा क्षेत्र विस्तार भए दैलेखमा बालबालिका, शिक्षा र युवाका क्षेत्रमा जागरुकता आउने भएकाले पनि सेवा विस्तारका लागि अनुरोध गएिको सोसेकका कार्यकारी निर्देशक डम्बर कार्कीले बताए ।

परियोजना सल्हाकार समितिमा सोसेक, एभ्रेष्ट र सेवक संस्थाबीच कार्यक्रममा दोहोरोपना नगर्ने सहमति पनि भएको छ । समितिले दोहोरोपना नगर्ने नै निर्णय गरेको सोसेकले जनाएको छ ।



समितिको बैठकमा समिति संयोजक तथा स्थानीय विकास अधिकारी हरी प्याकुरेलले एउटै गाविसमा दुबै परियोजनाको सेवा क्षेत्र भएकाले दोहोरोपना हुन नदिन सुझाव दिएका थिए । उनले सोसेक र एभ्रेष्टलाई कार्यक्रममा दोहोरोपना नहोस भन्नेमा सचेत हुनुपर्ने बताए । यस्तै समिति सदस्य तथा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले शिक्षा सम्बन्धि कार्यक्रम गर्ने गैर सरकारी संस्थाले शिक्षा कार्यालयसँग त्यति समन्वय नगरेको बताएका थिए । उनले सहयात्रा परियोजनाबारे सोसेकसँग समन्वय भए पनि वाइइपीबारे एभ्रेष्ट क्लबसँग आवश्यक समन्वयमा कमी भएको बताए । उनले वाइइपी कार्यक्रम दैलेखमा सुरुहुँदा आफू जिल्लामा नभएकाले पनि सोबारे आफूलाई जानकारी नभएको बताए । उनले शिक्षा सम्बन्धि कार्यक्रम गर्ने संस्था र जिल्ला शिक्षा कार्यालयबीच समन्वय हुनु आवश्यक रहेको बताए ।

यसअघि बैठकमा समितिले सेरी गाविसमा गरेको अनुगमबारे अनुभव आदाप्रदान गरिएको थियो । समितिले बिहीबार सेरी गाविसमा सञ्चालित सहयात्रा र वाइइपी परियोजनाले गरेका क्रियाकलापको अनुगमन गरेको थियो ।

प्रतिक्रिया