डा. केसी फेरि अनशनमा

डा. केसी फेरि अनशनमा

१० असोज, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका चारबुँदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन सुरु गरेका छन् ।

डा. केसी सोमबार अपराहृनबाट अनसनमा बसेका हुन् । डा. केसीले भने, ‘लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया सुरु नभएसम्म अनसन तोड्दिन ।’

सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया सुरु नभइ अनसन नरोकिने बताए ।

डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ ? भन्ने प्रश्न गरे ।

उनले यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गरेका थिए ।

केसीले आफ्ना सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने, अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने माग राखेका छन् । डा. केसीले यसअघि लोकमानलाई महाअभियोग लगाउनुपर्ने बताएकोमा नवौं अनसनमा आयुक्त सिंहको नाम पनि थपेका छन्

यस्तै शुल्क निर्धारण समिति खारेज गर्नुपर्ने र यसअघिको सहमतिअनुसार आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले अघि सारेका छन् ।

सरकारले भने डा. केसीसँग भएको सहमति कार्यान्वयनको प्रक्रियामा रहेको बताएको छ । स्वास्थ्यमन्त्री गगन थापा निकट स्रोतका अनुसार अहिले भइरहेका कामहरुको जानकारी दिँदै डा. केसीलाई अनसन नबस्न निकटवर्तीमार्फत आग्रह गरिएको थियो ।

सरकारले पेश गरेको चिकित्सा शिक्षा ऐनलाई संसदले सैद्धान्तिक सहमति दिइसकेको छ । डा. केसीका सुझावहरुलाई ऐन संशोधनमार्फत सम्बोधन गर्न सकिने शिक्षा मन्त्रालयले बताएको छ ।

लोकमानको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने तयारीस्वरुप न्याम्सको नाम परिवर्तनको प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया