संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : अधिकारी

संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : अधिकारी

काठमाडौं, ११ असोज । नेकपा एमालेका नेता भरतमोहन अधिकारीले संविधान संशोधनभन्दापनि कार्यान्वयनतर्फ लाग्नुपर्ने स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक स्मारिकाको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीले भने,‘संविधान संशोधन भन्दापनि यसको कार्यान्वयनको लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयन विनाको यो बहस अनावाश्यक हुन्छ ।’ उनले निर्धारित समयमै चुनाव गर्नुको विकल्प नभएको समेत जिकिर गरे ।

उनले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेकोले संविधान संशोधनभन्दा बढि कार्यान्वयनमा जोड दिनुपर्ने जिकिर गरेका हुन् । अधिकारीले थपे,‘संशोधनको लागि विभिन्न कानुन तथा ऐनहरु बनाउनतिर लाग्दा संविधान नै असफल बनाउने तत्वहरुले फाईदा लिन सक्ने संभावना देखियो, यसबाट शर्तक रहनुपर्छ ।’

अधिकारीले मुलुक आर्थिक समृद्धितर्फ अघि बढेमात्रै सबै खाले विभेद तथा असमानताहरु हट्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले जातीय छुवाछुत र सामाजिक विभेदको विरुद्ध प्रतिभा सन्देश स्मारिकाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । धमलाले भने,‘प्रतिभा जाति नागरिक समाजले जातीय छुवाछुत र सामाजिक विभेद हटाउन अहम भूमिका खेलेको छ, म यसको खुलेरै प्रशंसा गर्न चाहन्छु ।’

उक्त स्मारिकाको प्रधान सम्पादकमा पत्रकार विष्णु कुमार प्रसाई रहेका छन् । स्मारिकामा दलितको नाममा भएको सामाजिक विभेदलाई अन्त्य गर्न प्रतिभाशाली वैज्ञानिक एवम् प्राविधिक समुदायलाई दलित नभनेर प्रतिभा जाति भनेर अगाडि बढिरहेको कामलाई प्रोत्साहन गरिएको प्रधान सम्पादक प्रसाईले जनाए ।

संस्थाका अध्यक्ष एवम् संरक्षक दलवीर विश्वकर्मा रसाईलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया