काँग्रेस वरिष्ठ नेता पौडेल–सिटौलाबीच ‘पानी बाराबार’

काँग्रेस वरिष्ठ नेता पौडेल–सिटौलाबीच ‘पानी बाराबार’

काठमाडौं, असोज १६-
कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत हुन नसकेको खबर छ ।

पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन् ।

ramchandra-and-sitaula

कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए । पार्टी्भित्र अरूका सोच हावी गराउने पात्रका रूपमा सिटौलालाई चित्रित गर्दै उनले भनेका थिए, हामी दुई पक्ष समझदारी गरे अगाडि बढे बागीहरू समाप्त हुन्छन् ।’ कार्यक्रममा सँगै रहेका सिटौलाले भने आफूप्रति लक्षित पौडेल बाणलाई हाँसेरै टारे, अर्थात् तत्काल कुनै प्रतिक्रियात्मक जवाफ दिएनन् । अन्तर्मनको आक्रोश भने उनले आफ्ना निकटवर्तीसँग पोख्ने गरेका छन् । यी दुई नेताबीचको सम्बन्ध कतिसम्म चिसिएको छ भन्ने बुझ्न शुक्रबारको चियापान काफी छ ।

पौडेलले विजयादशमीको उपलक्ष्यमा सञ्चारकर्मीका लागि भन्दै चियापान आयोजना गरे। लगत्तै सिटौलाले त्यसै दिन एउटै समय पारेर मिडियाका प्रमुखहरूका लागि भन्दै छुट्टै चियापान गरे । ‘पौडेलले चियापान गरेपछि पुरानो संस्थापनभित्र आफ्नो पनि छुट्टै अस्तित्व देखाउन सिटौलाले पनि आयोजना गरेका हुन,’ यी दुई नेताबीचको केमेस्ट्री बुझेका एक कांग्रेस नेताले भने, ‘अहिले यी दुवै नेता एकअर्काको अस्तित्व समाप्त पार्ने रणनीतिमा उत्रिएका छन् ।’

प्रतिक्रिया