उपाध्याय र पौडेल राजदूतमा अनुमोदन

उपाध्याय र पौडेल राजदूतमा अनुमोदन

काठमाडौ १६ असोज – व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले भारत र चीनकालागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।

संसद सचिवालय सिंहदरवारमा आइतबार बसेको समिति बैठकले चीनकालागि प्रस्तावित लीलामणि पौडेलको नाम सर्वसम्मत रुपमा र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम बहुमतले अनुमोदन गरेको समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।

उपाध्यायको नाममा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपा नेपालले असहमति जनाएका थिए । देशको हितमा काम गर्न नसकेको भन्दै पूर्ववर्ती सरकारले फिर्ता बोलाएका राजदूतलाई सोही ठाउमा पठाउनु कुटनीतिक मर्यादा विपरित हुने भन्दै उनीहरुले उपाध्यायको नाममा बिरोध जनाएका हुन् ।

एमाले र राप्रपा नेपालको बिरोधका वाबजुद समितिको बहुमतले उपाध्यायको नाम अनुमोदन गरेको हो । संसदको कार्यसंचालन नियमावलीमा दुइतिहाइ सदस्यले अस्वीकार गरेमात्र अनुमोदन नहुने व्यबस्था छ ।

यसअघि गत बुधवार भएको सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरुले आफूहरु राजदूत नियुक्त भएमा नेपाल संगको सम्बन्ध विस्तारमा जोड दिने बताएका थिए । संसदीय समितिले नाम अनुमोदन गरेपछि राष्ट्रतिले राजदूत नियुक्त गर्ने छिन् ।

प्रतिक्रिया