वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन : मन्त्री लेखक

वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन : मन्त्री लेखक

काठमाडौं, १६ असोज । भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् । उनले अघि थपे,‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुटपरमिट दियो भन्ने हल्ला, आंशकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।’ यद्धपी उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री लेखकले दशैंतिहारलाई लक्षित गरेर सरकारले सवारीहरुको उचित व्यवस्था, यात्रुवाहक बसहरु बढिभन्दा बढि थप्ने लगायतको सम्पूर्ण व्यवस्था गरिसकेको उल्लेख गर्दै भने,‘सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीहरुको उचित व्यवस्था लगायत आवश्यक पहल र प्रयत्न गरिसकेको छ, सरल र सुगम तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कोहीपनि यात्रुहरुले चिन्ता गर्नुपर्दैन् ।’
उनले यातायात व्यवसायीहरुले समेत दशैंतिहारमा उपत्यकाबाट गन्तब्यसम्म जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसँग व्यक्त गरिसकेकोले यात्रुहरुले चिन्ता गर्नु नपर्ने विश्वास दिलाए ।
उनले भने,‘यातायात व्यवसायी साथीहरुले जिल्लाजिल्ला अथवा देशव्यापी रुपमा सवारीहरु ल्याएर भएपनि सेवा दिन्छौं भन्नुभएको छ, आशा छ सवारीको अव कुनै कमी हुँदैन् ।’ मन्त्री लेखकले आवश्यक परे सरकारले अन्य विकल्प समेत अघि सार्ने जनाए । हालै मात्रैपनि सवारी आवातजावतको उचित व्यवस्था गर्नेबारे सम्बन्धित सबै निकाय प्रहरी, सेना, र सरकारका मुख्य सचिववीच छलफल भएको समेत उनको भनाई थियो । उनले पछिल्लो समय सरकारले बनाएको नयाँ नियम बमोजिम क्षमताभन्दा बढि यात्रु बोकेको पाईयो भने कडा कारवाही गर्ने समेत उद्धघोष गरे । लेखकले थपे,‘सवारीको कुनै कमी हुँदैन, जोखिमपूर्ण यात्रा नगरौं, छतमा बसेर यात्रा गर्ने काम नगरौं ।’
सवारी आवातजावतमा कलंकीदेखि नाघढुँगा, नाघढुँगादेखि मुग्लिनसम्म, र मुग्लिनदेखि नारायणघाटसम्मको सडकको मर्मत भैसकेकोले अब त्यसमा पनि कुनै समस्या नहुने उनको भनाई थियो । उनले भने,‘दशैंतिहारमा यी सडक खण्डमा समेत कुनै समस्या हुँदैनन् ।’
फरक प्रसँगमा मन्त्री लेखकले संविधान संशोधन प्रक्रियाबारे दलहरुवीच आन्तरिक गृहकार्य भैरहेको समेत बताए । उनले भने,‘अहिले दलहरुवीच आन्तरिक गृहकार्य भैरहेको छ, छिट्टै यसले गति लिन्छ ।’
उनले सरकारको प्रमुख दायित्व भनेको नै संविधानलाई सर्वस्विकार्य बनाउनु रहेको समेत जनाए । मन्त्री लेखकले थपे,‘सरकारको पहिलो एजेण्डा भनेको नै असन्तुष्टहरुको लागि पनि विश्वासमा लिएर संविधान साझा सम्पत्ति बनाउने हो ।’ सरकारले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको भएपनि आन्तरिक गृहकार्य, दलीय छलफलका कारण केही समय लम्बिएको उनको दाबी थियो ।
संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको चुनाव सम्पन्न गर्नु अहिलेको अनिवार्य आवश्यक रहेको लेखकको भनाई थियो । प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच स्थानीय निकायको पूर्नसंरचनाबारे संख्यामा सहमति भैसकेकोले अब स्थानीय निकायको चुनाव निर्धारित मितिमै हुने लेखकले दाबी गरे ।

प्रतिक्रिया