लामा र महर मिल्दा माधव पक्ष असन्तुष्ट

लामा र महर मिल्दा माधव पक्ष असन्तुष्ट

१८ असोज, काठमाडौं । माउ पार्टीको हस्तक्षेपपछि एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको विवाद टुंगिएको छ । अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको विवादका कारण अखिलमा चार महिनादेखि विवाद उत्पन्न भएको थियो ।

एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारीले दुवै पक्षलाई मिलाएर विवाद समाधान गरेका हुन् । सोमवारको स्थायी कमिटी बैठकले विवाद समाधान गरेको महासचिव ऐन महरले बताए ।

यसक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अधिकारीले नविना र ऐनलाई भेटाएर सहमति गराएको स्रोतले जनाएको छ ।

एमालेभित्र नविना र ऐन दुबैजना ओली पक्षका हुन् । तर, असारमा भएको कार्य विभाजनमा नविनाले एकलौटी गरेको भन्दै ऐन महरले बैठक बहिस्कार गरेपछि विवाद बढेको थियो ।

यसबीचमा ऐन पक्षले कार्य विभाजन अस्वीकार गरेको थियो भने नविनाले विधानमा भएका बाहेक अन्य सात नयाँ विभाग बनाएकी थिइन् ।

विवाद समाधान गर्ने क्रममा विद्यार्थी इन्चार्ज अधिकारीले कार्य विभाजनको निर्णय गर्ने बैठकमा सबैलाई समेट्न नसक्नु नविनाको कमजोरी भएको बताएका थिए ।

त्यस्तै जिम्मेवार व्यक्तिहरु बैठकमा नजानु र समानान्तर भेला आयोजना गर्न खोज्नु गलत भएको भन्दै ऐन महरको आलोचना गरेका थिए । अब कार्य विभाजनका सन्दर्भमा विधानसँग बाझिने निर्णयहरु बदर हुने र अन्य कार्य विभाजनको विषय अस्थायी भएकाले हेरफेर गर्न सकिने निष्कर्ष अधिकारीले सुनाएको स्रोतले जनाएको छ ।

तर, सचिव सुदेश पराजुलीले भने नीति बनाउने नाममा व्यक्ति पीडित हुन नहुने भन्दै यसअघि गठन भइसकेको र जिम्मेवारीमा रहेका व्यक्तिको जिम्मेवारी नीतिका नाममा खोस्न नमिल्ने बताए ।

अखिल स्थायी समितिमा नेपाल पक्षका पदाधिकारीमा सुदेश,अरती लामा र ओसिम आलम तीनजना मात्र छन् । उनीहरुले पछिल्लो विवादमा अध्यक्ष नविनालाई साथ दिएका थिए ।एमालेभित्र पराजुली माधव नेपाल पक्षधर मानिन्छन् ।

संगठनलाई व्यवस्थित ढंगले चलाउन बिधानभित्र रहेर कार्य सम्पादन नियमावली र आचारसंहिता निर्माण गर्ने निर्णय भएको अध्यक्ष नविना लामाले बताएकी छन् । आचारसंहिता र निमायवाली उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने सहमति भएको छ ।

अधिकारीको निर्देशन लगत्तै बैठक सकिएकाले थप छलफल हुन नसकेको पराजुलीले बताए । उनले पार्टीले नीतिगत निर्देशन दिने बाहेक निर्णयहरु उल्ट्याउन नपाउने दाबी गरे ।

महासचिव महरले भने अब विवाद टुंगो लागेको र अर्को बैठकले कार्य बिभाजन मिलाउने बताए । ‘विधान विपरीत बनाइएका विभागहरु स्वतः बदर हुन्छन्, प्रस्तावित विधानमा सुझावसहित टुंगो लगाइन्छ । कार्य विभाजन कसरी हरेफेर गर्ने भन्ने अर्को बैठकमा तय हुन्छ’ उनले भने ।

उपाध्यक्ष रश्मी यसअघिको कार्यविभाजन हेरफेर नहुने तर विधानसँग बाझिएका विवादका हकमा अर्को निर्णय हुने बताए ।

 

प्रतिक्रिया