पूर्वगृह मन्त्रीको अझै पत्तो लागेन

पूर्वगृह मन्त्रीको अझै पत्तो लागेन

गत असोज नौ गते मुक्तिनाथको दर्शन गरेर मुस्ताङबाट फर्केका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका आफन्त चढेको स्कोर्पियो जीप मुङलिङ नजिकै घोप्टेभिरमा सडकबाट खसेर त्रिशुली नदीमा डुबेको थियो ।

आज सो घटनाको दस दिन बितेको छ । त्यही मोटरमा चढेका मध्ये घिमिरेकी आमा, एक जना नातेदार र अंगरक्षकको शव र घाइते मोटर चालकलाई घटना भएकै दिन भेटिएको थियो भने पूर्वमन्त्री घिमिरे, उनका भाइ सहसचिव प्रकाश घिमिरे तथा काकाका छोरा मोहन घिमिरे र उनीहरू चढेको मोटर भने अहिलेसम्म भेटिएको छैन । यस्तो ठूलो घटना भएको १० दिन बित्दा पनि अहिलेसम्म बेपत्ता तीनजना र पानीमा डुबेको मोटरको केही पत्तो लागेको छैन ।
आजको नयाँ पत्रिकाले यही विषयलाई एक कोलमको मुख्य समाचार बनाएर पूर्वगृह मन्त्री तथा अन्य दुईलाई खोज्न ५६० सुरक्षाकर्मी परिचालन भएको जनाएको छ । गृहमन्त्री विमलेन्द्र निधिले चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खोजी समिति बनाएको र सोहीअन्तर्गत ५ सय ६० सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन् । यस विषयमा निधिले संसद्लाई जानकारी पनि गराएका छन् । घिमिरे दाजुभाइको कुनै पत्तो नलागेपछि उनका परिवारले भने मृत्यु भएको संझी कुशको प्रतिमूर्ति बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

प्रतिक्रिया