त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा

त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा

एसियाबाट नेपाल र उज्वेकिस्तानको विमानस्थल खराब

काठमाडौं, ७ कात्तिक – नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थल विश्वका दश सबभन्दा खराब एयरपोर्टहरूको सूचीमा परेको छ । स्लिपिङ इन एयरपोर्टस् डट नेट नामक एयरपोर्ट सम्बन्धी वेबसाइटले गरेको सर्भेले यस्तो देखाएको हो ।

‘त्रिभुवन विमानस्थल एसियाको एउटा यस्तो विमानस्थल हो जुन विश्वका १० खराब विमानस्थलको सूचीमा पर्दछ,’ रिपोर्टमा भनिएको छ ।

रिपोर्ट अनुसार नेपालको त्रिभुवन विमानस्थल र उज्वेकिस्तानको ताशकन्द विमानस्थल एसियाबाट विश्वका १० खराब विमानस्थलको सूचीमा परेका छन् ।

उक्त रिपोर्टमा निर्धारण गरिएको विमास्थलको क्रम सन् २०१६ मा विभिन्न विमानस्थलमा गरिएको मतदानका आधारमा गरिएको हो ।

उक्त सर्भेका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडान भर्ने क्षेत्र फोहोर छ । चर्पीहरूमा गनाउने खालका छन् । खानेकुराहरू सफा छैनन् अनि त्यहाँ कार्यरत कर्मचारीहरूले यात्रुलाई सहयोग गर्दैनन् ।

उक्त रिपोर्टले अन्तर्राष्ट्रिय टर्मिनलको क्षेत्रमा केही सुधार भएको भने देखाएको छ । त्रिभुवन विमानस्थलले अहिले पनि संघर्ष गरिरहेको भएपनि भूकम्पपछिको अवस्था भने विमानस्थलले सुधारेको देखिन्छ ।

उक्त सर्भेमा आरामदायी सुविधा, उपलब्ध गराइएका अरू सेवा सुविधा, खाने कुराको विविधता, सुरक्षा, यात्रुको सेवा र सरसफाईलाई समेटिएको थियो ।

साना सुधारहरू त्रिभुवन विमानस्थलमा भएका छन् । ‘तर आन्तरिक टर्मिनलबाट यात्रा गर्दै हुनुहुन्छ भने हल्लाखल्ला सहनेगरी तयार हुनुहोला,’ रिपोर्टले भनेको छ ।

यात्रुहरूका अनुसार विमानस्थलमा करोडौं रुपैयाँ खर्च गरिएको भएपनि नागरिक उड्डयन प्राधिकरण यात्रुका आवश्यकता समाधानमा चुकेको छ ।

तर विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले उक्त सर्भेको रिपोर्टलाई अस्वीकार गरेका छन् । विमानस्थलमा राम्रा काम भइरहेका छन् तर उक्त सर्भे भने एकपक्षीय छ भन्ने उनको तर्क छ ।

प्रतिक्रिया