पूर्वमन्त्री प्रश्रित आमाको किरिया ७ दिनमा सक्दै

पूर्वमन्त्री प्रश्रित आमाको किरिया ७ दिनमा सक्दै

काठमाडौं, ११ कात्तिक – पूर्वमन्त्री, साहित्यकार र संस्कृतिविद् मोदनाथ प्रश्रित आफ्नी आमाको सात दिने किरियामा बसेका छन् । बुधवार दिउँसो उनकी ९७ वर्षीया आमा बालिकादेवी पौडेलको निधन भएको थियो । 

मोदनाथ प्रश्रितले धर्मसंस्कार सुधार तथा भूतप्रेत र अन्धविश्वास जस्ता विषयमा प्रशस्त कलम चलाएका छन् । प्रश्रित नेपालका धेरै कम्युनिस्ट नेता कार्यकर्ताहरूले पढिएका लेखक समेत मानिन्छन् ।

धार्मिक अन्धविश्वासविरुद्ध लडेको व्यक्ति भएरसमेत अहिले तपाईं आमाको किरियामा बस्नुभएको छ नि भन्ने प्रश्नमा प्रश्रितले भने, ‘पहिलेदेखि नै हामीले एउटा अभियान चलाएका हौं । केही वर्षअघि निनु चापागाईं, खगेन्द्र संग्रौला र नरहरि आचार्य लगायतका लेखकहरू मिलेर मृत्युसंस्कारमा सुधार गर्नुपर्छ भन्ने खालको छलफल चलायौं र हामी सबैको विचार समेटिएको एउटा पुस्तक पनि विवेक सिर्जनशील प्रकाशनले छापेको छ ।

धार्मिक विधि नछुटोस् तर नास्तिकता प्रदर्शन नहोस् भन्ने हाम्रो मान्यता हो । परिस्थिति र समयको न्यूनतालाई ध्यानमा राखेर ७ दिनभित्र सबै काजक्रिया गर्न सकिन्छ भनेर म अहिले आमाको ७ दिने किरियामा बसेको छु ।

‘तीन भाइमध्ये माइला बितिसक्नुभयो । कान्छो भाइ हराएको करीब तीन महिनामात्रै भएको छ । उनको अत्तोपत्तो छैन । त्यसैले आजै पण्डितजीहरू आउनुभयो अनि उहाँहरूले पनि तपाइँले सही गर्नुभयो भन्नुभएको छ,’ प्रश्रितले भने, ‘उहिले वर्षदिनसम्मै सेतो कपडा लगाएर बस्ने र मासिक श्राद्धको चलन थियो । मेरा बा २०११ मा बित्दा महिना–महिनामै श्राद्ध गरिएको थियो,’ प्रश्रितले भने, ‘म चाहिँ ७ दिन सेतो लुगा लगाउँछु । शुद्ध र सात्विक खान्छु, नुन खान्नँ ।

उनले पहिले–पहिले मान्छेहरू अनेक रोग लागेर बिरामी हुने र मान्छेको रोग सर्ने डरले सफा भएर सेता लुगा लगाउने प्रचलन भएको प्रश्रितको तर्क छ । ‘र त्यही पवित्रताको परम्पराको कुराले पनि यसलाई छोट्याएरै भएपनि निरन्तरता दिनु उचित हुन्छ । जसले हामीलाई जन्माउनु भयो, उनको मृत्युमा केही दिन परिवारसँग एकाकार भएर बस्ने हाम्रो परम्परा उचित छ । हाम्रा आस्थाहरूलाई सम्मान गर्ने हो,’ उनले भने, ‘आफ्नो–आफ्नो व्यक्तिगत धारणा जे भएपनि अन्त्येष्टि क्रियाका केही विधान संसारभर छन् । कम्युनिस्ट देशमा पनि मृत्युविधान छ । तर समय अनुसार केही परिवर्तन त गर्नैपर्छ ।’

बुधवार नै प्रश्रितको आमाको शवदहन गरिएको थियो । पौडेल कम्युनिस्ट पार्टीको समेत सदस्य भएकाले पशुपति आर्यघाटमा उनलाई पार्टीको झण्डा ओढाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएका थिए । प्रश्रितले लोकान्तरलाई बताए अनुसार उनकी आमाले भूमिगत कालमा पार्टीका नेताहरूलाई आश्रय दिने तथा पार्टीलाई हरतरहले सहयोग गरेकी थिइन् ।

आधा दशकअघि आफ्नी आमाको मृत्यु हुँदा चर्चित लेखक खगेन्द्र संग्रौलाले किरिया बसेका थिएनन् । पछि उनले संस्कार र विधानमा भएका विभिन्न विषहरुमा सुधार गर्नुपर्ने भन्दै ‘आमा र यमराज’ नामक कृति सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया