भारतीय राष्ट्रपतिको भ्रमणमा ८ करोड खर्च हुँदै

भारतीय राष्ट्रपतिको भ्रमणमा ८ करोड खर्च हुँदै

काठमाडौं, १८ कात्तिक – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका क्रममा करीब ८ करोड रुपैयाँ खर्च हुने अनुमान नेपालका सरकारी अधिकारीहरूले गरेका छन् । खर्च अर्थ मन्त्रालयले बेहोर्नेछ ।  सबै खर्चको यकिन विवरण भ्रमण सकिएपछि अर्थमा पेश गर्ने र त्यहाँबाट निकासा दिने मौखिक सहमति भएको छ । अर्थले खर्चको बिल र आवश्यक कागजात सुरक्षित राख्न सम्बन्धित सरकारी निकाय र अधिकारीहरूलाई भनिसकेको छ । भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयबाट भइरहेको छ ।

भ्रमण सकिएपछि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले सबै खर्चको विवरण अर्थ मन्त्रालयमा बुझाउनेछन् ।  होटेल खर्च, खाना, गाडी र जहाज भाडा, तेल, सुरक्षा, खाजा, स्वागतद्वार लगायतमा ८ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको हो । ‘अनुमान गरेभन्दा बढ्न पनि सक्छ,’ स्रोतले भन्यो । अर्थले खर्चको बिल भर्पाई र आवश्यक कागजात हेरेर निकासा दिनेछ ।

‘अस्वाभाविक र असामान्य खर्चको बिल देखियो भने त्यसमा अवश्य छलफल र समीक्षा हुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो ।  भारतीय राष्ट्रपतिलाई जनकपुर लैजाने ल्याउने प्रयोजनका लागि बुद्ध एयरका दुईवटा जहाज एक दिनका लागि भाडामा लिइएको छ । सबैभन्दा बढी खर्च त्यसमा हुनेछ ।

भारतीय राष्ट्रपतिको साथमा भारतबाट आएका अधिकारी र नेपाली अधिकारी पनि जहाजमै जनकपुर जानेछन् । राजधानीको बौद्धस्थित होटेल हयातमा भारतीय राष्ट्रपतिसहित छिमेकबाट आएका ६० जना पाहुना बसिरहेका छन् । तीन दिनसम्म उनीहरू उक्त होटलमा बस्दा खानपिन, होटेल कोठाभाडा लगायतको खर्च अत्यधिक हुने अनुमान छ ।

भ्रमणका क्रममा हेलिकप्टर पनि प्रयोग गरिनेछ र त्यसको खर्च सरकारले बेहोर्नेछ । भारतीय राष्ट्रपतिको स्वागतमा बुधवार बेलुका होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजको बिल पनि अत्यधिक हुने अनुमान गरिएको छ ।

भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकासँगको समन्वयनमा भएका सरसफाई, शहर सफा राख्न प्रयोग गरिएका सामग्री, सादा पोशाकका सुरक्षाकर्मीको परिचालन र आवश्यक प्रबन्धका निम्ति पनि खर्च भएको छ । स्वागतका लागि काठमाडौंको विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिएको थियो ।

प्रतिक्रिया