भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

१९ कात्तिक, काठमाडौं । ‘सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन, हामी यो संविधानलाई यहीरुपमा स्वीकार गर्दैनौं,’ मधेसी मोर्चाका नेताहरुले विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा भने, ‘महामहिम राष्ट्रपतिज्यूको जनकपुर जाने कार्यक्रमबाट भने हामीलाई धेरै खुशी लागेको छ ।’

मुखर्जीसँगको भेटमा सहभागी मोर्चाका एक नेताले अनलाइनखबरसँग भने- ‘हामी भारतीय राष्ट्रपतिलाई भेट्न गृहकार्यका साथ गएका थियौं, उनी सेरमोनियल पदमा भएकाले सामान्य औपचारिकतामात्रै प्रकट गर्ने हाम्रो योजना थियो ।’

मोर्चाका नेताहरुले मुखर्जीसँगको भेटमा अहिलेको नेपालको संविधान समावेशी नभएकाले यहीरुपमा आफूहरुले संविधान नमान्ने र आन्दोलनमा जाने बताएका थिए ।

अहिलेको सरकारलाई आफूहरुले पनि समर्थन जनाएको तर सरकारले संविधान संशोधन गर्नेमा आश्वस्त हुन नसकेको मधेसी नेताहरुले मुखर्जीलाई बताएका थिए ।

स्रोतका अनुसार राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री प्रचण्डले आफूसँगको कुराकानीमा संविधान संशोधन गर्ने बताएको जानकारी दिँदै संविधान सबैको साझा दस्तावेज हुनुपर्ने बताएका थिए ।

करिब १५/२० मीनेटको भेटमा मधेसी नेताहरुले भारतीय राष्ट्रपतिसमक्ष संविधानको विरोध गर्दै आन्दोलनमा जानुपर्ने बाध्यता आउन लागेको जानकारी गराएका थिए ।

तर, राष्ट्रपतिले मिथिलालाई महत्व दिँदै जनकपुर भ्रमणको कार्यक्रम बनाएकोमा मधेसी नेताहरुले मुखर्जीप्रति प्रशन्नता व्यक्त गरेको मोर्चाका नेताले अनलाइनखबरलाई जानकारी दिए ।

 

प्रतिक्रिया