नुन अभावको हल्ला मात्र

नुन अभावको हल्ला मात्र

२७ कात्तिक, काठमाडौं । बजारमा अहिले नुनको अभाव भएको भन्दै उपभोक्ता आतंकित भएका छन् । तर, सरकारले भने यसलाई कृत्रिम अभावको संज्ञा दिएको छ ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा नुन अभावको हल्ला चर्किएपछि काठमाडौंको बजारसम्म यसको असर देखिएको छ ।

पहाडी क्षेत्रमा कजारमा पनि नुन ‘सर्टेज’ भएको भन्दै पसलहरुमा एकैपटक ठूलो परिमाणमा नुन खरिद गर्नेहरु बढेका छन् । भारतीय ५ सय र १ हजार दरका नोट प्रतिवनध लागेपछि सीमावर्ती जिल्लामा नुन अभावको गलत हल्ला फैलिएको साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रवन्धक ब्रजेश झाले अनलाइनखबरलाई जानकारी दिए ।

यस्ता हल्ल्ााको पछि नलाग्न झाले सबै उपभोक्तालाई आग्रह गरेका छन् । ‘हामीसँग अझै ६ महिनालाई पुग्ने नुन मौज्दात छ, त्यसैले नेपाली बजारमा कुनैपनि बाहानामा नुन अभाव हन सक्दैन’ झाले भने,’यदि कसैले नुन अभाव गराएको छ भने त्यो कृत्रिम मात्र हो । स्थानीय प्रशासनले त्यसविरुद्ध कारबाही थाल्दा हुन्छ ।’

उनकाअनुासर अझै देशभर झण्डै ९० हजार मेट्रिकटन भन्दा बढी नुन मौज्दात छ । भारतको उत्तर प्रदेशमा नुनको कृत्रिम अभाव गराएपछि नेपाली बजारमा पनि नुन अभावको हल्ला फैलिएको उनले बताए ।

यसैकारण पश्चिमी तराईका जिल्लाहरुमा अहिले नुन किन्नेहरुको ठूलो भीड पसलहरुमा देखिएको छ ।

बजारमा नुन कन्निेहरुको भीड लागेपछि कालोबजारी गर्नेहरु सक्रिय भएका छन् । उनीहरुले बजारबाट नुन किनेर लगेर गाउँ-गाउँमा महंगोमा बेच्न थालेका छन् ।

काठमाडौंमा पनि पसलहरुमा एकैपटक धेरै किलो नुन किन्ने उपभोक्ताहरु बढेका छन् । अभावको हल्ला भ्रामक भएको भन्दै साल्ट ट्रेडिङले नआत्तिन र आवश्यक परिमाणमै नुन खरिद गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया